‘वलीको सपना पूरा गर्ने जिम्मवारी आयो’
दाङ, २१ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाका सदस्य उत्तरकुमार वलीले देखेको सपना पूरा गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ ।
दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार वलीको १२औँ दिनको पुण्य तिथिका अवसरमा आज वलीकै निवास दङ्गीशरण गाउँपालिका–६ लेटारमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा उहाँले पश्चिम दाङको विकासका लागि बृहत् योजना बनाएको भए पनि त्यो योजना पूरा नगर्दै उहाँको निधन भएकाले वलीले देखेको सपना पूरा गर्नुपर्ने जिम्मेवारी समग्र प्रदेशसभा तथा पार्टीको काँधमा आएको बताउनुभयो ।
मुख्यमन्त्री पोख्रेलले वलीले प्रदेशको विकासका लागि ठूलो योजना सुनाउनुभएको स्मरण गर्दै उहाँका योजनाहरु पूरा गर्ने जिम्मेवारी आएको बताउनुभयो । वलीले स्थानीय तहले गरेका गतिविधिहरुका बारेमा नियमित जानकारी लिनाका साथै उपलब्ध स्रोतसाधनको प्रयोग हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको उहाँको भनाइ थियो ।
शोकसभामा प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले वली सत्तापक्षीय सांसद भए पनि प्रदेशसभामा नियमित सरकारको खबरदारी र सक्रिय सांसद रहेको बताउनुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले उत्तरको दुर्घटनाले पाठ सिकाएको भन्दै आउँदा दिनमा सडक सुरक्षालाई विशेष ध्यान दिने बताउनुभयो ।
त्यस अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ का सचिव जगप्रसाद शर्माले कुशल सङ्गठन र नेतृत्व गर्ने क्षमता भएका नेता वलीको निधनले पार्टीलाई ठूलो क्षति पु¥याएको उल्लेख गर्नुभयो । श्रद्धाञ्जलिसभामा प्रदेश मामिला तथा कानून निर्माण समितिका सभापति दामा शर्मा लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा स्व वलीकी श्रीमती बिमलाले श्रीमान्को सपना पूरा गर्न राजनीतिमा सक्रिय हुने बताउनुभयो । उहाँका दुई वटा छोरा प्रणय र प्रतीकले आफ्नो बुबाको सपना साकार पार्नेसमेत उदघोष गरे । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीलगायतले वलीको स्मृतिमा प्रतिष्ठान खोल्नेदेखि विकास निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भएको थियो । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वलीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा फागुन १० गते निधन भएको थियो ।
