‘प्रदेशसभाले योग्य र कुशल सदस्य गुमाएको छ’ : मुख्यमन्त्री पोखरेल

खस्यौली, १० फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वामलोकतान्त्रिक आन्दोलनमा प्रदेशसभा सदस्य उत्तरकुमार वलीको भूमिका सधै स्मरणयोग्य हुने उल्लेख गर्नुभएको छ ।

आज बिहान प्रदेशसभा सदस्य वलीको निधन भएपछि शोक विज्ञप्ति जारी गर्दै उहाँले सधै परिवर्तनका पक्षमा दृढ, जनताको माझमा भिजेका वलीको निधनले प्रदेशसभाले योग्य र कुशल सदस्य गुमाएको उल्लेख छ ।

उहाँले भन्नुभएको छ, “परिवारजनले एक असल अभिभावक र दाङवासीले भरोसायोग्य नेता गुमाउनुुपरेको छ ।” गत माघ २४ गते दाङको लमहीमा सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका वलीको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रदेशसभा सदस्य वली दाङको क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा प्रतिनिधित्व गर्नुहुन्थ्यो । त्यस्तै प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीको सचिवालयले आज कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने जनाएको छ । सभामुख घर्तीले उहाँको निधनले आफू मर्माहत भएको उल्लेख गर्दै शोक विज्ञप्तिमा प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीले प्रस्तुत गरेको भूमिका प्रशंसनीय भएको जनाउनुभएको छ ।

यस्तै नेकपा, प्रदेश नं ५ संसदीय दलका सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सदस्य वलीको निधनले दाङको कम्युनिष्ट आन्दोलनलाई क्षति पु ¥याएको बताउनुभएको छ । यस्तै प्रदेश नं ५ को विपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शोक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले स्तब्ध बनाएको उल्लेख छ ।

सभामुख महराद्वारा दुःख व्यक्त

सभामुख कृष्णबहादुर महराले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभामुख महराले आज एक शोकवक्तव्य प्रकाशित गरी प्रदेश नं ५ का प्रदेशसभा सदस्य वलीको उपचारकै क्रममा आज बिहान मेडिसिटी अस्पतालमा निधन भएको घटनाले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ ।

असामयिक, अकल्पनीय र विडम्बनापूर्ण दुर्घटनामा परी भएको उहाँको निधनले हामी सबैलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै सभामुख महराले दुःखको यस घडीमा दिवङ्गत वलीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सभामुख महराले सांसद वलीको निधनसँगै दाङका एक ऊर्जाशील र क्षमतावान् जनप्रतिनिधि गुमाएको र प्रदेशसभाले आफ्ना एक जुझारु, सक्रिय र ऊर्जाशील जनप्रतिनिधि गुमाउनु परेको उल्लेख गर्दै वलीको अभाव सधैँ खड्की रहने बताउनुभएको छ ।

पछिल्लो समय नेपालमा सवारी दुर्घटना विकराल समस्याका रुपमा आएको उल्लेख गर्दै उहाँले विडम्बनापूर्ण दुर्घटनाबाट हामीले थुप्रै प्रतिभावान् व्यक्तित्वलाई गुमाइरहेकोमा दुःख व्यक्त गर्नुभएको छ । दुर्घटना न्यूनीकरणका लागि केही न केही कदम अघि बढाउन निकै ढिला भइसके र यस्ता दुःखद् घटना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट सोच्न जरुरी रहेको सभामुखले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

पार्थिव शरीर दाङमा

प्रदेशसभा सदस्य उत्तरकुमार वलीको शव दाङ ल्याइएको छ । उहाँको पार्थिव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको छ ।
वलीको पार्थिव शरीरमा प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, नेकपा प्रदेश नं ५ का सचिव जगप्रसाद शर्मा ‘अपार’लगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

पार्टी कार्यालयमा आज साँझसम्म श्रद्धाञ्जलिका लागि राखिने छ भने त्यसपछि पार्थिक शरीर शनिबार १० बजे श्रीगाउँको घरमा पु¥याइने नेकपाका तुलसीपुर अध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । शनिबार नै उहाँको अन्तिम दाहसंस्कार गरिने पारिवारिक जनाइएको छ । गाडी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका वलीको काठमाडौँको मेडासिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजेतिर निधन भएको हो ।

दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद वलीको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलि अर्पणका लागि राखिएका थियो । गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो । वलीको टाउको, खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । सांसद वलीको ३६ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.