स्व वलीको स्मरणमा प्रदेश सचिवालय बन्द, नेकपाद्वारा दुःख व्यक्त
रुपन्देही, १० फागुन : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ ।
प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेको र प्रदेशसभामा सांसद वलीका अभिव्यक्ति तथा सहयोग सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वलीको निधनले समाज र प्रदेशसभामा अपूरणीय क्षति पुगेको छ”, सभामुख घर्तीले वलीको निधनमा श्रद्धाञ्जलि प्रकट गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा आज एक दिन प्रदेशसभा सचिवालय बन्द रहने पनि बताइएको छ ।
सडक दुर्घटनामा परी घाइते हुनुभएका वलीको गएराति काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको हो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किंदा उहाँ दाङको चिसापानीमा दुर्घटनामा परी घाइते हुनुभएको थियो ।
नेकपाद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी वलीको निधनमा दुःख व्यक्त गदै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । वलीको आज राति २ बजे उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । वली गत माघ २५ गते अपरान्ह ४ बजे बुटवलबाट दाङतर्फ जाँदै गर्दा घोराही उपमहानगरपालिका–३ को चिसापानीमा सवारी दुर्घटनामा घाइते हुनुभएको थियो । घाइते वलीलाई उपचारका लागि काठमाडाँै ल्याइएको थियो । उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङबाट निर्वाचित हुनुभएको थियो ।
विज्ञप्तिमा अनेरास्ववियुबाट राजनीतिक यात्रा आरम्भ गर्नुभएका वली तत्कालीन नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य हुनुभएको उल्लेख छ ।
