प्रदेशसभा सदस्य ओलीको स्वास्थ्यमा सामान्य सुधार

तुलसीपुरबाट वीरगञ्ज जाँदै गरेको ना ५ ख ५५२९ नम्वरको बस र बुटवलबाट तुलसीपुर जाँदै गरेको बा १८ च ६८३६ नम्वरको प्रदेश सांसद उत्तरकुमार वलीको कार घोराही उपमहानगरपालिका ३ चिसापानी घुम्तीमा ठोक्किदा दुर्घटना भएको हो । बस सडकदेखि केही तल खसेको छ । तस्वीर: रीता लामा, घोराही (दाङ)

राँझा, २५ माघ : कार दुर्घटनामा पर्नुभएका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । गम्भीर घाइते ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालको ‘आईसीयु’मा राखेर उपचार भइरहेको छ । उहाँको उपचारमा खटिनुभएका ‘अर्थोपेडिक’ चिकित्सक दिनेश श्रेष्ठले हिजोको तुलनामा केही सामान्य सुधार आएको बताउनुभयो ।

“हामीले यहाँ उहाँको अवस्था बिग्रिन नदिन प्राथमिक उपचार गरिरहेका छौँ, सामान्य सुधार देखिएको छ, थप सुधार आउनासाथ उपचारका लागि अन्यत्र लैजानुपर्दछ”, उहाँले भन्नुभयो । उहाँको टाउको, हात, छाती र पेटमा गम्भीर चोट देखिएको छ । डा श्रेष्ठले मुख्य चोट छातीमा लागेकाले पाँच करङ भाँचिएको र पेटमा समेत रगत देखिएको बताउनुभयो । ओलीलाई अहिले पनि आइसीयु कक्षमा ‘भेन्टिलेटर’मार्फत कृत्रिम श्वासप्रश्वास सञ्चालन गरिएको छ ।

ओलीलाई थप उपचारका लागि गए राति नै भारतको लखनउ लैजान भन्टिलेटरसहितको एम्बुलेन्स मगाए पनि अवस्था गम्भीर भएकाले लैजान नसकिएको उपचारमा खटिनुभएका शिक्षण अस्पतालका स्वास्थ्यकर्मी एवं नेकपाका नेता अब्दुल हुसेन खाँले जानकारी दिनुभयो । “हिजो अस्पतालमा ल्याउँदाभन्दा सामान्य सुधार देखिएको छ, तर अवस्था गम्भीर नै छ”, खाँले रासससँग भन्नुभयो, “चिकित्सकसँग परामर्श गरिरहेका छौँ, केही सुधार आउनासाथ काठमाडौँ वा लखनउ लैजाने तयारी भएको छ ।”

हिजो साँझ करीब साढे पाँच बजे तुलसीपुरबाट वीरगञ्ज जाँदै गरेको ना५ख ५५२९ नंको बस र बुटवलबाट तुलसीपुर जाँदै गरेको बा१८च ६८३६ नंको कार घोराही उपमहानगरपालिका–३ चिसापानी घुम्तीमा ठोक्ँिकदा ओली गम्भीर घाइते हुनुभएको हो ।

बसमा सवार रुकुम मुसिकोट गाउँपालिका–२ निवासी ३६ वर्षीय रमिता शर्माको घटनास्थलमै मृत्यु भएको थियो भने प्रदेशसभा सदस्य ओलीसहित १४ घाइते भएका थिए । ओली आफँैले कार चलाउनुभएको बुझिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओली गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.