उद्योगी व्यवसायीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण
बुटवल, २४ माघ : बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रुपमा ऋणको ब्याज दर बढाउँदा उद्योग तथा आर्थिक क्षेत्रमा पर्न गएको नकारात्मक प्रभाव तथा आउन सक्ने जटिलताप्रति उद्योगी व्यवसायीले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैंकको यस्तो खालको गतिविधि कायम रहेमा प्रदेश नं ५ ले लिएको औद्योगिक नीति र आर्थिक लक्ष्य प्राप्तिमा समेत प्रतिकूल प्रभाव पर्ने निश्चित रहेको भन्दै उद्योगी व्यवसायीले समस्या समाधानका लागि पहल गरिदिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उद्योगीको व्यवसायिक छाता संस्था रुपन्देही उद्योग सङ्घले आज बुटवलमा मुख्यमन्त्रीलाई भेटी उद्योगी व्यवसायीको संरक्षणमा आवश्यक पहलका लागि ज्ञापनपत्र बुझाएका छन् । सङ्घले बुझाएको ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले तरलता अभावका नाममा उद्योग धन्दा नै बन्द हुने तथा आर्थिक गतिविधिमा प्रभाव पर्ने गरी ऋणको ब्याज दर बढाउँदै गएको पछिल्लो कदमले उद्योग क्षेत्रमा पार्ने असर र मुलुकको आर्थिक विकास तथा समृद्धिको बाटोमा आउन सक्ने अड्चन प्रति नेपाल राष्ट्र बंैक तथा नेपाल सरकार गम्भीर बन्नु जरुरी भएको उल्लेख गरिएको छ ।
तीव्र औद्योगिक क्रान्ति, आर्थिक विकास र समृद्धि बनेको र वर्तमान सरकारले पनि त्यसैमा आफ्नो एजेण्डा बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा नै तय गरेको अवस्थामा देशको आर्थिक विकास र समृद्धिमा बैंकको ब्याजदर वृद्धि बाधक बन्न पुगेको हुने उल्लेख गरिएको छ । यसरी उत्पादन मुलक उद्योगमा प्रवाह गरिएको ऋणमा बढाइएको ब्याजदर तत्काल घटाएर ब्याजदर कायम गर्न र बंैकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमुलक उद्योगमा सरल तरिकाले लगानी गर्ने व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
