प्रतिष्ठान र प्रदेश अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा । तस्वीर: मानदत्त रावल, जुम्ला

सुर्खेत, २९ मङ्सिर : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गुणात्मक स्वास्थ्य सेवा प्रवाहसम्बन्धी तीनवर्षीय करार सम्झौता भएको छ ।

प्रतिष्ठान र प्रदेश अस्पतालको पूर्वाधार उपयोग एवं उपलब्ध जनशक्तिको परिचालन गरी शिक्षण, अनुसन्धान र सेवा प्रवाहमा गुणात्मक विकास, जनशक्ति उत्पादन तथा विस्तार गर्न सम्झौता भएको हो । प्रतिष्ठान जुम्लाका तर्फबाट रजिष्ट्रार विश्वराज काफ्ले, डीन रेशमबहादुर राना र हाडजोर्नी विशेषज्ञ डा मंगल रावल तथा प्रदेश अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा डम्बर खड्का र डा नवराज केसीले सम्झौतापत्रमा हस्तारक्षर गर्नुभएको छ ।

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले पनि उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता आदानप्रदान कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशका नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तथा शिक्षामा गुणात्मक सुधार ल्याउन सम्झौता उपलब्धिमूलक बन्ने अपेक्षा राख्नुभयो ।

मन्त्रालयका सचिव डा मानबहादुर विकले प्रदेश सरकारको स्वास्थ्य नीति, २०७६ को कार्यान्वयनस्वरुप पहिलो काम दुई स्वास्थ्य संस्थाबीचको सम्झौता भएको जनाउनुभयो । प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम भेकका जनताको स्वास्थ्य सेवामा गुणस्तरीयता प्रदान गर्ने तथा संविधानप्रदत्त अधिकार सुनिश्चित गर्ने उद्देश्यले सम्झौता गरिएको बताउनुभयो ।

सम्झौताबमोजिम प्रतिष्ठानले शैक्षिक कार्यक्रमका लागि आवश्यक पर्ने आधारभूत सामग्री र प्राविधिक सहयोग, योग्यताप्राप्त चिकित्सकलाई ‘शैक्षिक उपाधि प्रदान’, अनुसन्धान क्रियाकलाप, जनशक्ति व्यवस्थापन तथा चिकित्सक एवं कर्मचारीको वृत्ति विकासमा सुविधा प्रदान गर्नेछ ।

त्यसैगरी प्रदेश अस्पतालले प्रसूतिविद्या, एनेस्थेसिया एसिस्टेण्ट जस्ता प्रतिष्ठानद्वारा सञ्चालित स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत छात्रछात्राका लागि आवश्यक पर्ने प्रयोगात्मक अभ्यासका निम्ति शिक्षक, चिकित्सक, कार्यरत स्वास्थ्यकर्मी, सुँढेनी तथा नर्सको मातहतमा रही काम गर्ने अवसर प्रदान गर्नेछ । त्यस्तै प्रतिष्ठानबाट सञ्चालित अनुसन्धानमा प्रदेश अस्पतालका कर्मचारी सहभागी गराउन अस्पताल स्वयंले सहजीकरण गर्ने र ‘लाइफ सेभिङ सर्जिकल एण्ड एक्यूट केयर म्यानेज्मेन्ट स्किल’को प्रदेश अस्पतालले तालीम केन्द्रका रुपमा सहकार्य गर्ने सम्झौता भएको प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.