विश्व हेपाटाइटिसविरुद्धको दिवस: के हो हेपाटाइटिस, कसरी बँच्ने?

काठमाडौं, १२ साउन : आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तर्क्रिया  आयोजना गरी मनाइँदै छ।

कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको संघ (नासल)का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा. सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउँछन्।  

‘नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन्। पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ,’ डा. केसीले भने।

के हो हेपाटाइटिस ?

हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ। हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुन्छन्।

कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगको गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुन्छ।

हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ। कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको पाइन्छ।

भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ। हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ। हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्।

रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ। सीको सङ्क्रमण धेरै लागुपदार्थ दुर्व्यसनी फस्नेमा देखिने गरेको छ।  हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ। परिवार र समुदायमा बढी देखिन्छ।

चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुन्छ। हेपाटाइटिस ए र इभन्दा बी र सीको सङ्क्रमण घातक हुने गरेको छ। विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचओ)का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन्।

जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको अनुमान छ।

विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार  सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ।

हेपाटाइटिस कसरी बच्ने?

चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो। हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ। हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा. शर्माको सुझाव छ।

‘हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यस रोग कम हुँदै जान्छ,’ उनले भने। उनका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ।

हेपाटाइटिसको उपचार

‘आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ। बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ,’ डा. केसी भन्छन्, ‘बिरामीलाई जन्डिसको समस्या देखिन्छ। जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ। त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ।’

डा. केसी जनचेतनाको अभावमा बिरामीले अनावश्यक जथाभावी औषधिको सेवन गर्न नहुने बताउँछन्। उनका अनुसार हेपाटाइटिस ए र इ हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्छ।

यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ। उनका अनुसार यो विशेषगरी दीर्घरोगी  र गर्भवती महिलामा बढी सङ्क्रमण हुन्छ।

हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उनी भन्छ्न, ‘औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ।’ सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ। हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ।

डा. शर्मा भन्छन्, ‘हेपाटाइटिस बी सङ्क्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ। त्यस्ता ठाउँमा रोगको  परीक्षण  गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सक्ने सङ्क्रमण फैलिनलाई रोक्न सहयोग पुग्छ।’

ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ। सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ। बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ। चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो। त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उनको सुझाव छ।

नेपालमा हेपाटाइटिसको समस्या

सरकारसँग यकिन तथ्याङ्क नभए पनि तीन लाख जनामा हेपाटाइटिस रोग हुनसक्ने चिकित्सकको अनुमान छ। देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन्। चिकित्सकका अनुसार नेपालमा ए र इ बढी देखिन्छ, प्रत्येक वर्ष वर्षायाममा बढी देखिने हुन्छ।

‘बीको एक प्रतिशतभन्दा कम छ। कुनै–कुनै ठाउँमा धेरै छ। जस्तै मनाङ, मुस्ताङ, डोल्पामा धेरै छ,’ डा केसी भन्छन्, ‘हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको सङ्क्रमण धेरै देखिन्छ।’

एचआइभीलाई महत्त्व दिइएजसरी हेपाटाइटिस बीलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न पहल गर्नपर्ने डा. शर्मा बताउँछिन्।

उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हेपाटाइटिस प्राथमिकतामा परेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.