रेडक्रस सोसाइटीको चुनावको माग

काठमाडौँ, ३२ जेठ । परिवर्तन नेपाल रेडक्रस समुहले अविलम्ब नेपाल रेडक्रस सोसाइटीको चुनावको माग गरेको छ । सञ्जीवकुमार थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्य समितिको पदावधि विसं २०७५ चैत मसान्तमा सकिएको भएपनि हालसम्म नयाँ नेतृत्वका लागि पदाधिकारीको निर्वाचन हुन नसकेकाले उक्त समुहले आज सोसाइटीको परीसरमा भेला भई पुनःगठन गर्न माग गरेको
हो ।
देशभर रेडक्रसकर्मीको सञ्जाल रहेको उक्त समूहका संयोजक जगदीश भट्टराईले पदावधि सम्पन्न भएका पदाधिकारीको निर्देशनमा आर्थिक तथा वित्तीय कारोवार सञ्चालन गर्दा अनियमितता हुन सक्ने खतरा औँल्याउँदै संस्थाको नाममा विभिन्न बैंकमा रहेका खाता सञ्चालन गर्न केन्द्रीय बैंकले प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिनुभयो ।
सर्वोच्च अदालतले गत भदौ २४ गते गरेको फैसलाअनुसार तत्कालीन पदाधिकारीले निर्वाचन सम्पन्न नगरी एकल निर्णयबाट संस्था सञ्चालन गरेको, कर्मचारी भर्ना, सरुवा, करारा नविकरण, नियम विपरीत महिनामा दुई पटक केन्द्रीय कार्यसमितिको बैठक गरेको, संसथालाई आर्थिक रुपमा धरासयी बनाएको, दाताहरुले विकास तथा सेवा कार्यक्रममा सहयोग रोकेको, कर छली गरेको समूहले जनाएको छ ।
पदाधिकारीका पदावधि सम्पन्न भएपछि सोसाइटीको विधानअनुसार एक वर्ष पदावधि थप गरिएको, दोस्रो पटक तीन महिना थप गरिएकामा पनि संस्थाको निर्वाचन हुन सकेको छैन् ।
यसैबीच समूहले सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाललाई थापा नेतृत्वको पदाधिकारी तथा कार्य समितिको नामबाट कुनै पनि आर्थिक प्रशासनिक कामकाज, गतिविधि नगर्न नगराउन आज ध्यानाकर्षण गराएको छ ।
