ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी
भीष्मराज ओझा । काठमाडौँ, १४ साउन : संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै काठमाडौँ उपत्यकाका अस्पतालमा भइरहेको फोहर व्यवस्थापन सम्बन्धमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले सो विषय उजागर गरेको हो ।
विभागले अध्ययनका लागि उपमहानिर्देशक सफला श्रेष्ठको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य विभाग, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका प्रतिनिधि र विभागका चार जना प्राविधिकसहितको समिति गठन गरेको थियो । समितिले नमूनागत रुपमा छनौट गरी उपत्यकाका निजामती कर्मचारी अस्पताल, तिलगंगा आँखा अस्पताल, ग्राण्डी इन्टरनेशनल हस्पिटल र बयोधा अस्पतालमा स्थलगत अनुगमन गरेको थियो ।
अध्ययनका क्रममा चार अस्पतालमध्ये ग्राण्डी अस्पतालमा मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा रहेको र त्यो पनि नियमित सञ्चालन नभएको देखिएको उपमहानिर्देशक श्रेष्ठले बताउनुभयो । निजामती अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र रहेको भएपनि बिग्रिएकाले हाल सञ्चालनमा छैन् । अस्पतालबाट निस्कने फोहर पानी सिधै ढलमा मिसाउने गरिएको देखिन्छ ।
तिलगंगा आँखा अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको छैन् । अस्पतालबाट निस्कने फोहर पानी सार्वजनिक ढलमा मिसाउने गरिएको देखिन्छ । फोहर पानीको नमूना संकलन गरी प्रयोगशालामा पठाउँदा त्यसमा मापदण्डभन्दा बढी फोहर पाइएको प्रतिवेदनमा जनाइएको छ ।
निजामती अस्पतालले दिनमा तीन पटक, तिलगंगा अस्पतालले दिनमा दुई पटक, ग्राण्डी अस्पतालले दिनमा दुई पटक र बयोधा अस्पतालले दिनमा चार पटक फोहर संकलन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । सबै अस्पतालले फोहर निर्मलीकरणका लागि भने आवश्यक प्रशोधन उपकरण (अटोकेलेभ) राखिएको उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । चारै अस्पतालले फोहर व्यस्थापनको जिम्मा हाउस किपिङ विभागअन्तर्गत गरेको देखिएको छ ।
अस्पतालहरुले फोहर जलाउँदा सरकारले तोकेको मापदण्ड अनुरुपको तापक्रममा जलाउने नगरेको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिनुभयो । चारै अस्पतालमा केन्द्रीय फोहर संकलन स्थल भने रहेको देखिन्छ । साथै अस्पतालबाट उत्सर्जन हुने जोखिम र जोखिमरहित फोहरको प्लाष्टिकको बोराहरु मिसाएर नगरपालिकाले लैजाने गरेको देखिएको छ ।
उपत्यकामा बढ्दो जनसंख्या शहरीकरण प्रदूषणका कारण अस्पताल एवं स्वास्थ्य सेवाजन्य संस्थाहरुको संख्या बढ्दै गइरहेको छ । यस्ता अस्पतालबाट सामान्य फोहर मात्र नभइकन हानीकारक फोहर पनि निष्कासन हुने गर्दछ । हानीकारक फोहरको उचित व्यवस्थापन नभएमा यसले मानव स्वास्थ्य एवं वातावरणमा गम्भीर असर गर्दछ ।