सप्तरीमा थप एक जनामा सङ्क्रमण, सङ्क्रमित १२१ पुगे

काठमाडौँ, २९ वैशाख : सप्तरी जिल्लामा एक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा ती युवकमा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या १२१ पुगेका छन् ।

यसअघि आज नै कपिलवस्तुका यशोधरा नगरपालिका र बुद्धभूमि नगरपालिकामा १० जनामा सङ्क्रमण देखिएको थियो ।

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो । कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु छन् भने अर्का एकजनाको उमेर खुलेको छैन ।

सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ । वीरगञ्जमा २७, नेपालगञ्जमा २४, विराटनगरमा १९, रुपन्देहीमा १६ र भरतपुरमा १ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण भएको छ। १६ हजार ८ सय ९८ जनाको पिसिआर र ५६ हजार ६ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ३ र बाहिर १ सय ६१ गरी कुल १ सय ६४ जना आईसोलेसनमा छन् । मुलुकभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.