कैलाली र रौतहटमा एक-एक जनामा कोरोना संक्रमणको पुष्टि
धनगढी, १ वैशाख: नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक-एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
कैलालीको लम्की चुहामा रहेकी ५५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
वीरगञ्ज नाकामा चिया पसल सञ्चालन गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । कैलालीको भुरुवास्थित आफन्तको घरमा बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।
१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् ।

१९ वर्षीय युवकलाई कुनै लक्षण देखिएको थिएन तर संक्रमण भएको पुष्टि भएको छ । कारोना भाइरसबाट संक्रमित युवक लडाउनको समयमा भारतबाट नेपाल आएको पाइएको छ । भारतको राजधानी नयाँदिल्लीमा काम गर्ने उनी चैत १६ गते मध्यराति भारतीय सीमाबाट नेपाल प्रवेश गरेर इहनाथ नगरपालिका-५ स्थित आफ्नो घरमा पुगेका थिए ।
उहाँले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
अहिलेसम्म कैलालीमा छ, बागलुङ र काठमाडौँमा दुई-दुई तथा रौतहटमा एक र पर्सामा तीन जना कोरोना सङ्क्रमित फेला परेका छन् ।
यो संक्रमण संगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
यसअघि एकजना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
