प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको तयारी पूरा
काठमाडौँ, २० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गाैला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।
प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ । उहाँका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उहाँ विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ । दोस्रो मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ । डा ज्ञवालीले बुधबार बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गरिनेछ । यसअघि २०६४ मा भारतको एपालो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्ने सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ ।
अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वस्थ्यस्थितिबारे जानकारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिितिबारे जानकारी लिनुभएको छ । आज साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको हो । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।
नेपालमा मिर्गौला प्रत्यारोपण सफल
पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले सो जानकारी दिनुभएको हो । “पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको छ”, मिर्गौला रोग विशेषज्ञ डा काफ्लेले भन्नुभयो ।
डा काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःमिर्गौला प्रत्यारोपण नेपालमै गर्न लाग्नुभएकोमा यो नेपाली चिकित्सकको लागि ठूलो अवसर भएको बताउनुभयो । उहाँले प्रत्यारोपणको तयारी राम्रो भएकाले शल्यक्रिया सफल हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
वरिष्ठ चिकित्सक डा सुन्दरमणि दीक्षितले पनि प्रधानमन्त्रीले आफ्नो मिर्गौलाको प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताउनुभयो । डा दिक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नागरिक आवतजावत गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने बताउनुभयो ।
डा देवकोटाले शुक्रराज ट्रपिकल, पाटन अस्पताल र सशस्त्रमा श्यया तयारी अवस्थामा राखिएको बताउनुभयो । त्यस्तै, काठमाडौँ उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद बिरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण ८० देखि ८२ प्रतिशत चाही सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उहाँले स्पष्ट पार्नुभयो । साबुन पानीले नियमित हात धुन र अनावश्यक भीडभाडमा नजान र मास्क लगाउन उहाँले सुझाव दिनुभयो ।
