स्वास्थ्य सेवासम्बन्धी सन्देशमूलक पुस्तक सार्वजनिक
वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा डा सरस्वती पाध्येले लेख्नुभएको ‘आमा बन्नु एउटा महत्वपूर्ण कुरा हो’ शीर्षकमा पुस्तक बजारमा आएको छ ।
पुस्तकमा प्रजनन स्वास्थ्यको परिचय, गर्भावस्थामा हुने लक्षण, गर्भवती महिलाले खान नहुने कुरा, जन्मान्तर केका लागि, बच्चालाई दिनुपर्ने आवश्यक खोपलगायतका विषयमा पर्याप्त सन्देशमूलक शिक्षा समावेश गरिएको छ ।
सोही कार्यक्रममा विशेषज्ञ पाध्येका पिता भिषाग्रत्न दैवज्ञ के श्री नारायण शास्त्रीद्वारा लिखित लघुजातक पद्धति र धनवन्तर पूजाविधिसमेत लोकार्पण गरिएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ती कृतिको विमोचन गर्नुभयो । उहाँले आयुर्वेद र ज्योतिषशास्त्रको परम्परा भनेको वैदिक सभ्यता विकासक्रमभन्दा अगाडिको संस्कृति र परम्परा भएको बताउँदै आयुर्वेद र ज्योतिष दुवै विषयका प्रकाण्ड विद्धान् शास्त्रीले लेखेका ती कृति महत्वपूर्ण रहेको बताउनुभयो । अहिले छोरी पाध्येले प्रकाशनमा ल्याउनुभएको हो ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ज्योतिषशास्त्रका परम्परा र अभ्यास पूर्वीय सभ्यताको धरोहर भएको बताउँदै मानिसको जन्म, समयको यथार्थ पहिचान भएमा भविष्यका आँकलन ज्योतिषशास्त्रले गर्नसक्ने विचार व्यक्त गर्नुभयो ।
लेखिका प्रा डा पाध्येले आफू चिकित्सा शिक्षा पूरा गरेपछि अस्पतालमा गरेका विभिन्न अभ्यासका अनुभवलाई कृतिमा समावेश गरिएको बताउँदै पिताजीका अधुरा प्रकाशनलाई सर्वसाधारणमा पु¥याउन कृतिका रुपमा प्रकाशन गरिएको बताउनुभयो ।