निशुल्क आँखा शिविरबाट तीन सय ३० जना लाभान्वित
सुशीला रेग्मी (पाल्पा), २० पुस : पाल्पाको रम्भा गाउँपालिकामा संचालन भएको निशुल्क आँखा शिविरमा तीन सय ३० जना आँखाका बिरामीले सेवा लिएका छन् ।
रम्भा गाउँपालिका वडा नं १ को हुँगी स्वास्थ्य चौकीमा शिविर संचालन भएको शिविरमा सेवा लिएका तीन सय ३० आँखाका बिरामीमध्ये २५ जनामा मोतियाबिन्दु र छ जनामा मासु पलाएको भेटिएको छ । मोतियाबिन्दुको बिरामीलाई पुस २८ गते रामपुर नगरपालिकाको कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रमा निशुल्क अप्रेशनका लागि रिफर गरिएको छ । शिविरमा आँखा कमजोर भएका एक सय १५ जना बिरामीलाई चश्मा वितरण गरिएको छ भने अन्य बिरामीलाई समस्या अनुसारका औषधी निशुल्क प्रदान गरियो ।
शिविरमा कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका नेत्र सहायक अजयकुमार पालले आँखा जाँच तथा उपचार सेवा दिनुभएको हो । रम्भा गाउँपालिको आयोजना र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको प्राबिधिक सहयोगमा शिविर संचालन भएको हो ।
नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, पाल्पा लायन्स लाकौला आँखा अस्पतालद्वारा संचालित कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रले संस्था स्थापना भएपछिको पहिलो पटक निशुल्क सेवा दिएको हो । केन्द्रले बेला बेलामा कालीगण्डकीवेशीका विभिन्न ठाउँमा पुगेर स्थानीय तह, सामाजिक संघ संस्थाको समन्वयमा आँखा उपचारका लागि घुम्ती शिविरमार्फत प्राबिधिक सेवा दिइरहेको छ ।
गाउँमै आँखाको उपचार सेवा पाउँदा यहाँका नागरिक खुशी छन् । आँखामा सामान्य समस्या परेमा एक दिनको समय बिताएर रामपुर नगरपालिका तथा अन्य स्थानमा जान बाध्य नागरिकलाई घरदैलोमै सेवा पाउँदा उपचारमा ठुलो राहत मिलेको छ ।
न्यानो कपडा पाएपछि बालबालिका खुशी
पाल्पा रामपुर नगरपालिका–७ स्थित विजय प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । गरिमा विकास बैंक लिमिटेड शाखा कार्यालय रामपुरले सामाजिक उत्तरदायित्व बहन गर्दै ५८ बालबालिकालाई शनिबार कपडा वितरण गरेको हो । पुसको कठ्याङ्गिँ्रदो जाडोमा न्यानो कपडा स्वीटर पाएपछि बालबालिका खुशी भएका छन् ।
शाखा कार्यालय रामपुरका प्रमुख रमेश घिमिरेले बालबालिकाको शैक्षिकस्तर माथि उठाउन सबैले सहयोग गर्नुपर्छ भन्नुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कपडा वितरण गर्दै बालबालिकाको शिक्षा र स्वास्थ्यमा नगरपालिकाले विशेष ध्यान दिएको जानकारी दिनुभयो ।
गरिमा विकास बैंकले विद्यालयमा आएर साना–साना बालबालिकालाई स्वीटर सहयोग गरेकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले खुशी व्यक्त गर्नुभयो । विद्यालय स्थापनाको ५०औँ वर्ष पुगे पनि शैक्षिक क्षेत्रमा सुधार आउन सकेको छैन । हाल यहाँ नर्सरीदेखि कक्षा ४ सम्म पठनपाठन हँुदै आइरहेको छ ।
