बायोमेडिकल प्राविधिकको जनशक्ति थप गर्न जोड

काठमाडौँ, २२ कात्तिक : चिकित्सकीय उपकरणको सही व्यवस्थापन गर्न बायोमेडिकल प्राविधिक जनशक्ति थप गर्न जोड दिइएको छ । हाल नेपालमा स्वास्थ्य सेवा प्रदायक संस्थामा रहेका उपकरणको मर्मत तथा चुस्त बनाइराख्ने जनशक्ति (बायोमेडिकल इञ्जिनीयर) ५०० को हाराहारीमा छन् ।

विश्वप्रसिद्ध चिकित्सकीय उपकरण उत्पादन गर्ने चिनियाँ कम्पनी मन्द्रे आर्थिक एवं प्रावधिक सहयोगको जनरल मेडिकल सप्लायर्स र बायोमेडिकल इञ्जिनीयरिङ फाउडेशनद्वारा आज यहाँ आयोजित बायोमेडिकल प्रविधि हस्तान्तरण र सेवासम्बन्धी तालिमका सहभागीले सो आवश्यकता औँल्याउँदै उपकरणको सही व्यवस्थापनले मात्र बिरामीले राम्रो सेवा पाउने बताउनुभयो ।

सो कम्पनीले एनेस्थेसिया, भेन्टिलेटर, इन्फेक्सन पम्प, प्यासेन्ट मोसन, अल्टरसाउण्ड र ल्याप्रोस्कोपी सर्जरी जस्ता गुणस्तरीय उपकरण उपलब्ध गराउँदै आएको छ । साथै ती उपकरणको सही व्यवस्थापनकाबारे कम्पनीले पहिलोपटक सरकारी तथा निजी क्षेत्रमा विभिन्न अस्पतालमा कार्यरत बायोइञ्जिनीयरका लागि तालीमको आयोजना गरेको हो ।

तालीममा ६० जनाको सहभागिता रहेको थियो । नेपालमा वर्षेनी रु १५ अर्बभन्दा माथिका चिकित्सकीय उपकरण नेपाल भित्रिने गर्दछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका स्वास्थ्य प्रदायक संस्थामा चिकित्सकीय उपकरणकोे सही व्यवस्थापनमा प्रमुख समस्या रही आएको छ । स्वास्थ्य संस्थाका उपकरण छिटोछिटो बिग्रिँदा बिरामी समस्यामा पर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले कार्यक्रमको शुभारम्भ गर्दै कर्मचारी समायोजन प्रक्रिया समाप्त भएको हुँदा नयाँ कर्मचारीको दरबन्दी अध्ययन गर्दै बायोमेडिकल इञ्जिनीयरिङ पद थप्ने मन्त्रालयको तयारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा चिकित्सकीय उपकरणको अभाव हुँदैन, चिनियाँ कम्पनी मिन्ड्रले उत्पादन गरेका उपकरणलाई सस्तो मूल्यमा उपलब्ध नेपाललाई उपलब्ध गराएको छ ।”

चिनियाँ कम्पनी मिन्द्रेका दक्षिण एशिया व्यवस्थापक डयानी जिङले आफ्नो कम्पनीद्वारा उत्पादन गरिएका उपकरणको प्रयोगका बारेमा आगामी दिनमा नेपालमा तालीम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो । कम्पनीका पिटर जिङ र जिङ सुवानले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उपकरण अति आवश्यकतापर्ने बताउँदै उपकरणको सही प्रयोगका बारेमा बायोमेडिकल इञ्जिनीयरलाई समयसमय तालीमको आवश्यकतापर्ने उल्लेख गर्नुभयो । ती विज्ञद्वयले सहभागीलाई प्रशिक्षणसमेत दिनुभएको थियो ।

बायोमेडिकल इञ्जिनीयरिङ फाउण्डेशनका अध्यक्ष विकास श्रेष्ठले सरकारी अस्पतालमा उपकरणको सही व्यवस्थापनका लागि बायोमेडिकल इञ्जिनीयरको दरबन्दी बढाउन माग गर्नुभयो । जनरल मेडिकल सप्लायर्सका प्रमुख कार्यकारी अधिकृत जयकृष्ण श्रेष्ठले चिकित्सकीय उपकरणको सही प्रयोगका बारेमा निरन्तर तालीम र उपकरणको सही व्यवस्थापन गर्न सरकारलाई आफ्नो कम्पनीले सहयोग गर्ने जानकारी दिनुभयो । तालीमका सहभागीले उपकरणका साथमा तालीम भएमा सही प्रयोगमा समस्या नआउने बताउनुभएको थियो ।

‘ग्लोबल टेलिमेडिसिन सेन्टर’को शुभारम्भ

नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘ग्लोबल टेलिमेडिसिन सेन्टर’को शुभारम्भ गरिएको छ । ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिका तथा रोटरी क्लब अफ इन्टरनेशनलको सहकार्यमा नेपाल नेशनल अस्पताल कलङ्कीमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले टेलिमेडिसिन सेवाको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा उहाँले बढ्दो प्रविधिको प्रयोगसँगै प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गर्न लागेकामा खुशी व्यक्त गर्नुभयो । “स्वास्थ्य सेवाबाट कोही जनता वञ्चित हुन नपरोस् भन्ने लक्ष्य सरकारले राखेको छ, सरकारको लक्ष्य पूरा गर्न टेलिमेडिसिन सेवाले सहयोग पुग्ने विश्वास सरकारले लिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले अस्पतालले छोटो समयमा नयाँ प्रविधिमार्फत सेवा दिन लागेर राम्रो कामको शुरुआत गरेको बताउनुभयो ।

अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले दुर्गम क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्न ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिकासँग सहकार्य गरेर काम गर्न लागिएको बताउनुभयो । टेलिमेडिसिन सेवाको शुरुआतसँगै आफ्नो अस्पतालका डाक्टरले विदेशी डाक्टरसँग सिक्ने र सिकेको सीपलाई दुर्गम गाउँका जनताको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाइने उहाँको भनाइ छ ।

ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिकाका प्रमुख माइकल कुक, युर्निभर्सिटी अफ क्यालिफोर्नियाका डा जेम्स के गुड, रोटरी क्लब इन्टरनेशनल एशिया क्षेत्रका प्रमुख किमोजिम बेकर, ग्लोबल टेलिमेडिसिन सेन्टर भारतका प्रमुख सुरेश सवलोकलगायतले प्रविधिमार्फत नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि नेपालमा टेलिमेडिसिन सेन्टर स्थापना गरिएको बताउनुभयो ।

सेन्टरको सहकार्यमा नेपाल नेशनल अस्पतालसहित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी, काठमाडौँ मोडल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त सेवाको जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.