मानवीय सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ
काठमाडौँ, १९ भदौ : नेपाल रेडक्रस सोसाइटीले अगामी दिनमा मानवीय सेवालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्दै समुदायको उत्थानमा लागिरहने जनाएको छ ।
आफ्नो ५६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सोसाइटीका उच्च नेतृत्वले सो प्रतिबद्धता जनाएका हुन् । सो अवसरमा सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, उपमहामन्त्री हरि न्यौपाने र नेपाल भ्रमणमा रहनुभएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटिहरुको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सीले संयुक्तरुपमा झण्डोत्तोलन गर्नुभयो । मानवीय सेवाका विविध क्षेत्रमा कार्यरत सोसाइटीको स्थापना विसं २०२० भदौ १९ मा भएको थियो ।
‘रेडक्रस, सबै ठाउँमा सबैका लागि’ भन्ने नाराका साथ मनाइएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय महासङ्घका महासचिव सीले रेडक्रसको आधारभूत सिद्धान्तप्रतिको निष्ठालाई बढावा एवं विविधताको प्रवद्र्धन, आप्रवासीका लागि थप सहयोग गर्ने जस्ता क्षेत्रमा महासङ्घले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।
उहाँले नेपाल रेडक्रस सोसाइटीले विपद् र द्वन्द्वका समयमा समुदायका व्यक्तिको आत्मसम्मान एवं मानवीय सेवाका विविध क्षेत्रमा गरेको कामको खुलेर प्रशंसा गर्नुभयो ।
सोसाइटीका उपमहामन्त्री न्यौपानेले नेपाल रेडक्रसले हाल महासङ्घ, राष्ट्रिय सोसाइटीको सहकार्यमा सेवा र विकासमूलक गरी ९० भन्दा बढी परियोजना एवं कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
रेडक्रसले समुदायमा पु¥याएको सेवाले रेडक्रस अभियानको छवि वृद्धिमा सहयोग पुगेको चर्चा गर्दै उहाँले रेडक्रसका गतिविधिमा समुदायको सहभागिता र जवाफदेहिता अभिवृद्धिका लागि हटलाइन, रेडियो कार्यक्रम, फेसबुक पेजजस्ता सञ्चारमाध्यममार्फत जानकारी प्रदान गरिरहेको बताउनुभयो ।
आइसिआरसीका नेपाल प्रमुख अन्द्रे पकेलले नेपाल रेडक्रसको बृहत् सञ्जालले समुदायमा उदाहरणीय काम गरिरहेको उल्लेख गर्दै विशेषगरी आइसिआरसीले द्वन्द्वप्रभावित समुदायको सहयोगका लागि गतिविधि सञ्चालन गर्र्दै आएको जानकारी दिनुभयो ।
जापानिज रेडक्रस नेपाल प्रमुख काजिओ इगारासीले नेपालमा ठूलो मानवीय विपत्ति भूकम्प प्रभावित विभिन्न जिल्लामा प्रभावित समुदायका लागि नेपाल रेडक्रसँग भएको सहकार्यको प्रशंसा गर्नुभयो ।
यसैबीच नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष एवं वरिष्ठ समाजसेवी सञ्जीव थापा ‘जनसेवा श्री’ विभूषणबाट विभूषित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा सभापति थापालाई सो विभूषण प्रदान गर्नुभएको हो ।