वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर्न चिकित्सक सङ्घको अनुरोध

काठमाडौँ, ९ भदौ : नेपाल चिकित्सक सङ्घले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको समस्या सरोकारवालाबीचमा वार्ता र सम्झादारी गरी सुल्झाउन अनुरोध गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले प्रतिष्ठानमा कार्यरत १२ जना चिकित्सकलाई एकैपटक हटाएपछि प्रतिष्ठानको सेवामा गम्भीर असर पुगेको छ । चिकित्सकको अभावमा सेवाग्राही उपचार नपाइ घर फर्किन बाध्य हुनुपरेको छ ।

उपकुलपति भण्डारीको कार्यशैलीको विरोध गर्दै एकैपटक २९ जना चिकित्सकले सामूहिक राजिनामा दिएका थिए । अहिले उपकुलपति भण्डारीसहित चारजना चिकित्सकले मात्र सेवा सञ्चालन गरिराखेका छन् ।

सङ्घका महासचिव डा लोचन कार्कीद्वारा आज जारी गरेको विज्ञप्तिमा घटनाका विषयमा नेपाल चिकित्सक सङ्घ दाङ शाखाले निकालेको विज्ञप्ति प्रति नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको ध्यानाकर्षण भएको जनाउँदै वार्ता र सम्वादका माध्यमबाट समस्या सम्बोधन गर्न भनिएको छ ।

“स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव पर्न सक्ने भएको हुनाले सरोकारवाला निकायले गम्भीर रुपमा विचार गरी तत्काल उत्पन्न समस्याको छिटो समाधान निकाल्न सरोकारवाला निकाय समक्ष सङ्घले जोड्दार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

तीन सदस्यमा आठ नर्सको उम्मेदवारी    

यसैगरी नेपाल नर्सिङ काउन्सिलको रिक्त तीन सदस्य पदका लागि यही भदौ २८ गते निर्वाचन हुनेभएको छ । यसका लागि काउन्सिलले देशका मुख्य १२ स्थानमा मतदान केन्द्र निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार कोशी अञ्चल अस्पताल (विराटनगर), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान सुनसरी), जनकपुर अञ्चल अस्पताल (जनकपुर), भरतपुर जिल्ला अस्पताल (चितवन) र नारायणी उपक्षेत्रीय अस्पताल (वीरगञ्ज)मा मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी नेपाल नर्सिङ परिषद् (वाँसबारी काठमाडौँ), पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा), मिसन अस्पताल (भुषनडाडा पाल्पा), लुम्बिनी अञ्चल अस्पताल (बुटवल), भेरी अञ्चल अस्पताल (बाँके नेपालगञ्ज), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) र सेती अञ्चल अस्पताल (धनगढी)मा पनि मतदान केन्द्र निर्धारण गरिएको काउन्सिलले जनाएको छ ।

तीन सदस्य पदका लागि सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । निर्वाचनमा नर्सिङ सङघका सदस्यको मात्र मताधिकार हुने छ । सङ्घमा हाल करीब १२ हजार सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.