बुबाको स्मृतिमा रेडक्रस भवन
भद्रपुर, ९ भदौ : आफ्ना बुबाको स्मृतिमा छोराहरुले रु २० लाखको लागतमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रदशीको भवन निर्माण गरिदिएका छन् । समाजसेवी स्व सूर्यप्रसादको स्मृतिमा उहाँका छोराद्वय शान्तिप्रसाद र देवीप्रसादले सो भवनको निर्माण गर्नुभएको हो ।
सूर्यप्रसाद गणेश स्मृति भवनको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले उद्घाटन गर्नुभएको छ । आठ वर्षअघि स्व सूर्यप्रसादले प्रदान गरेको १५ धुर जग्गामा रेडक्रसको भवन निर्माण गरिएको हो ।
भवन निर्माणका लागि नेपाल रेडक्रस सोसाइटीसँग आर्थिक समस्या भएपछि दाता परिवारले नै भवन निर्माण गरिदिएको उपशाखा वाह्रदशीका सभापति दयानन्द गोस्वामीले बताउनुभयो । रेडक्रस सभापति ढकालले झापामा २६ वटा रेडक्रसका शाखामध्ये अब तीन वटा शाखाको मात्रै भवन नभएको र उनीहरुको पनि भवन निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।
