आँखा उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल

नारायण अधिकारी । चितवन, ११ वैशाख : आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका लब्धप्रतिष्ठित एवं धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् ।

नेपाल नेत्रज्योति सङ्घले यहाँ सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आँखाका सबै खालका उपचार हुन थालेपछि बाहिर जानेको सङ्ख्या घटन थालेको हो ।

विगतका वर्षमा यहाँका धनाढ्य, व्यावसायिक घरानाका व्यक्तिहरु, पहुँचवाला, उच्च पदमा आसिन व्यक्तिहरु आँखाको उपचारका लागि काठमाडौँ र विदेशसम्म जाने गर्दथे । तर अहिले आँखाको उपचारका लागि भारतसँगै काठमाडौँ लगायतका महत्वपूर्ण शहरबाट यहाँ बिरामी आउन थालेका हुन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष के एल भूषण यहाँको सुविधा काठमाडौँभन्दा राम्रो भएपछि यहीँ एउटा आँखाको शल्यक्रिया गरेको बताउनुहुन्छ । देब्रे आँखाको मोतियाविन्दुको शल्यक्रिया काठमाडौँमा गर्नुभएका भूषणले दाहिने आँखाको मोतियाविन्दुको शल्यक्रिया चितवनमै गर्नुभएको हो । उहाँ जिल्लाका ठूला व्यवसायी हुनुहुन्छ ।

प्रदेश नं ३ सदस्य घनश्याम दाहालले दाहिने आँखाको मोतियाविन्दुको शल्यक्रिया यहीँ गर्नुभयो । यही वैशाख १३ गते देब्रे आँखाको शल्यक्रिया गर्ने तयारीमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “आँखाको उपचारका लागि बाहिर जानुपर्दो रहेनछ ।”

इञ्जिनीयर शरद गोपाल न्याच्यौ आफूले अघिल्लो दिन आँखा देखाएर भोलिपल्टै मोतियाविन्दुको शल्यक्रिया गरेको बताउनुहुन्छ । आँखाको उपचारका लागि चितवनबाट बाहिर जानु नपर्ने अवस्था भरतपुर आँखा अस्पतालले बनाएको आफूले पाएको उहाँले बताउनुभयो ।

कम खर्चमा घरमै बसेर उपचार गर्न पाइने भएपछि सबैको आँखाको उपचारको रोजाइ भरतपुर बनेको उहाँले बताउनुभयो । जिल्लाका वरिष्ठ पत्रकार ईश्वर जोशीले हालै मात्र मोतियाविन्दुको शल्यक्रिया भरतपुर आँखा अस्पतालमा गर्नुभएको छ । अस्पतालमै भेटिनुभएका जोशीले घर नजिकै उच्चस्तरको सेवा पाएको बताउनुभयो ।

निजी क्षेत्रको नभएर समुदायको अस्पतालले विशिष्ट किसिमको सेवा दिन थालेपछि जिल्ला, छिमेकी जिल्ला र भारतीय भूमिबाट आउने बिरामी लाभान्वित भएका छन् । आँखा उपचारमा झण्डै तीन दशकको अनुभव सङ्गाल्नुभएका वरिष्ठ रेटिना विशेषज्ञ प्रा डा रघुनन्दन बेन्जुको नेतृत्वमा आठ विशेषज्ञ चिकित्सकले अस्पतालमा उपचार गराउँदै आएका छन् ।

नेपाल नेत्रज्योति सङ्घका प्रदेश नं ३ का संयोजक चीजकुमार मास्के बेन्जु रेटिनाको क्षेत्रमा नेपालको अग्रणी चिकित्सक भएको बताउनुहुन्छ । उहाँसँग उपचार गर्न काठमाडौँ लगायतका क्षेत्रबाट समेत बिरामी भरतपुर आउने गरेको मास्केले बताउनुभयो ।

डा बेन्जुले भरतपुर अाँखा अस्पतालले नानी प्रत्यारोपणसहित सबै खालका विशेषज्ञ सेवा दिँदै आएको बताउनुभयो । आँखाको उपचारका लागि बाहिर जान नपर्ने उहाँको दावी छ । सङ्घका सभापति एवं आँखा अस्पतालका अध्यक्ष कृष्णराज धरेल दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, समुदायको सहयोग र सहानुभूति लगायतका कारण भरतपुर आँखा अस्पताल स्तरीय सेवा दिन सक्षम भएको बताउनुभयो ।

विगतका वर्षमा सङ्घकै सदस्य आँखाको उपचारका लागि बाहिर जाने गरे पनि पछिल्ला वर्षमा बाहिरबाट समेत बिरामी आउने क्रम बढेर गएको उहाँले बताउनुभयो । धरेलले आजभोलि उपचारका लागि यहाँका धनाढ्य, सांसद, चिकित्सक, इञ्जिनीयर लगायतका समाजका प्रतिष्ठित व्यक्तिसमेत आउने क्रम बढेर गएपछि आफूहरु उत्साहित बनेको बताउनुभयो । उहाँका अनुसार अस्पताल र यसका सेवा केन्द्रमार्फत वर्षमा एक लाख ७६ हजार बढी बिरामीको उपचार गरिँदै आएको छ । अस्पतालले झण्डै छ हजार जनाको शल्यक्रिया गर्ने गरेको छ ।

भरतपुर आँखा अस्पताल सञ्चालक समितिका सदस्य केशव अधिकारी अस्पतालले उपचारसँगै अध्यापन, अनुसन्धान र जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.