आयुर्वेद उपचारको केन्द्र बन्दै ‘बिजौरी’

दीपक बोहरा । कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको दाङ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

चिकित्सालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको चिकित्सालयका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा रामकामेश्वर ठाकुरले बताउनुभयो । ‘‘डेढ वर्षअघि यो आयुर्वेद चिकित्सालय सुनसान थियो’’ उहाँले भन्नुभयो, “तर नयाँ सेवा शुरु गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।”

अहिले क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवा थप गर्नुका साथै विगतका सेवालाई पनि प्रभावकारी बनाएपछि सेवाग्राही बढेको उहाँको भनाइ छ । अहिले डोल्पा, सल्यान, रुकुम, रोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्जलगायतबाट पनि उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । ‘‘सेवा प्रभावकारी भए बिरामी आउँछन्’’ उहाँले भन्नुभयो, “हामीले बिरामीलाई गुरु ठानेर सेवा दिने गरेका छौँ ।”

अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि अग्रिमरुपमा नाम दर्ता गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा उहाँ एक्लैले बिरामी जाँच गर्दै आउनुभएको छ । आगामी वैशाख २६ गतेसम्म क्षारसूत्र सेवा लिने बिरामीको नाम दर्ता गरिसकिएको उहाँको भनाइ छ । ‘‘विशेषज्ञ चिकित्सक म मात्रै छु’’ उहाँले भन्नुभयो, “म एक्लै बिहान ७ देखि राति अबेरसम्म बिरामी जाँच गर्छु, एक्लैले धेरै बिरामीलाई सेवा दिन भने समस्या भएको छ ।”

वैशाखदेखि शुरु भएको क्षारसूत्र सेवा लिन दैनिक १०÷१२ जना आउने गरेको डा ठाकुरले बताउनुभयो । उहाँका अनुसार दैनिक तीन÷चारजनाको सफल शल्यक्रिया समेत हुने गरेको छ । ‘‘क्षारसूत्र सेवा लिन दैनिक १०÷१२ जना सेवाग्राही आउने गर्छन्’’, उहाँले भन्नुभयो,“दैनिक तीन÷चार जनाको सफल शल्यक्रिया हुने गरेको छ ।’’

अन्य स्वास्थ्य संस्थाभन्दा चिकित्सालयमा सस्तो मूल्यमा क्षारसूत्र सेवा प्रदान गरिँदै आएको डा ठाकुरले बताउनुहुन्छ । अन्य निजी स्वास्थ्य संस्थामा क्षारसूत्र सेवा लिन रु १० हजारभन्दा बढी लाग्ने भए पनि सो चिकित्सालयमा दुई हजार रुपैयाँ मात्रै लाग्ने गरेको डा ठाकुरले बताउनुभयो । चिकित्सालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायतका रोग निदान गर्दै आएको छ ।

चिकित्सालयमा क्षारसूत्र सेवा शुरु भएपछि आफु पायल्स, फिस्टुला, फिसररोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता हटेको सेवाग्राही खेमराज रिजालले बताउनुभयो ।

‘‘केही दिनअघि मैले पनि चिकित्सालयबाट क्षारसूत्र सेवा लिएको हुँ’’ उहाँले भन्नुभयो,“पहिले सानो समस्याका लागि पनि काठमाडौँं, बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो ।”  चिकित्सालयमा अहिले ३० श्याको भए पनि यसलाई स्तरोन्नति गरेर ५० श्याको बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

पञ्चकर्म पनि प्रभावकारी बन्दै

वैशाखदेखि शुरु भएको पञ्चकर्म सेवा पनि प्रभावकारी भएको डा ठाकुरले बताउनुभयो । उहाँका अनुसार पञ्चकर्म सेवा लिन दैनिक १५/२० जना आउने गरेका छन् । विभिन्न पाँचकर्म गरेर बाथ, पित्त तथा कफलाई निदान गर्न यो सेवा प्रदान गरिन्छ । लामो समयदेखि पूर्वाधार निर्माण भए पनि सञ्चालन हुन नसकेको उक्त सेवालाई गत वर्षदेखि सञ्चालनमा ल्याइएको हो । नयाँ/नयाँ सेवा विस्तार भएपछि चिकित्सालयमा बिरामीको सङ्ख्या बढेको छ ।

चिकित्सकको अभाव

चिकित्सालय व्यवस्थित हुँदै गए पनि विशेषज्ञ डाक्टरको अभाव भने कायमै छ । पाँच जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको चिकित्सालयमा अहिले एकजना मात्रै कार्यरत हुनुहुन्छ । चिकित्सालयमा बायोचिकित्सक, प्रसूति, जनरल विज्ञ र बालरोग विशेषज्ञको दरबन्दी छ ।

अहिले बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुर मात्रै हुनुहुन्छ । अन्य दरबन्दी भने रिक्त छन् । ‘‘दरबन्दी अनुसार चिकित्सक नहुँदा बिरामीलाई सेवा दिन समस्या भएको छ’’ उहाँले भन्नुभयो,“बिहानदेखि साँझसम्म एक्लै खटिनुपर्छ ।”

त्यस्तै दुईजना चिकित्सकको दरबन्दी रहेकामा दुईवटै रिक्त छन् । सहायक आयुर्वेदमा दुईजना र ल्याबमा भने दरबन्दी अनुसारका चिकित्सक रहेको डा ठाकुरले बताउनुभयो । त्यस्तै १२ जना कार्यालय सहयोगीको दरबन्दी रहेको भए पनि अहिले चारजना मात्रै रहेको उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा सुधार

विगत एक वर्षअघि ओपिडीमा बिरामीको अवस्था नाजुक थियो । तर अहिले सेवा प्रभावकारी भएको छ । बिरामीका लागि प्रतीक्षालय निर्माण गरिएको छ । नागरिक बडापत्र, सूचना बोर्ड, चिकित्सालयमा सरसफाइ थिएन, अहिले भने यो समस्या छैन् । भौतिक पूर्वाधारको अवस्था अस्तव्यस्त थियो । ‘ओजेटी’ गर्नेको सङ्ख्या न्यून थियो, स्वयंसेवक थिएनन्, तर अहिले यी सबै समस्याको हल भएको डा ठाकुरले बताउनुभयो । साथै अपाङ्गमैत्री शौचालय पनि निर्माण भएको उहाँले बताउनुभयो ।

डा ठाकुरका अनुसार पहिले चिकित्सालयको आम्दानी न्यून थियो । अघिल्लो वर्ष ५० हजार मात्रै आम्दानी थियो । तर गएको आर्थिक वर्षमा तीन लाख आम्दानी भएको डा ठाकुरले बताउनुभयो । अब पञ्चकर्मको भवन, अन्तरङ्ग, एक्सरे मेसिन, आधुनिक ल्याबको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

पूर्वाधारको निर्माण

चिकित्सालयलाई आवश्यक पर्ने विभिन्न पूर्वाधार पनि निर्माण भएका छन् । सरकारको अनुदान तथा विभिन्न व्यक्तिको सहयोगमा पूर्वाधार निर्माण भएका हुन् । चिकित्सालयको पूर्वतर्फबाट बाटो खुलाउने काम भएको छ ।

त्यस्तै चिकित्सालय परिसरमा मन्दिर निर्माण, योगा हल निर्माण, ल्याब, अन्तरङ्ग विभाग, पञ्चकर्म, क्षारसूत्र, फोटो थेरापी मेसिन, फ्रि– वाइफाइ, प्रविधिमैत्री रजिष्टेशन, सिसी क्यामेरा जडान, डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.