स्वास्थ्यचौकी भवन शिलान्यासकै दिन जन्मिएकी शिशुको नाम ‘शिलान्यास’

बागलुङ, ५ चैत : ठाउँ विवाद सुल्झिएपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा स्वास्थ्यचौकी शिलान्यासको तयारी चल्दै थियो । स्थापना भएको ४६ वर्षपछि स्वास्थ्यचौकीको नयाँ भवन बन्ने खबरले गाउँले हर्षित थिए ।

आइतबार बिहानैदेखि देउरालीमा बेग्लै चहलपहल देखिन्थ्यो । पाहुनाको सत्कारदेखि कार्यक्रम व्यवस्थापनमा युवादेखि पाकासम्म सबै खटिएका थिए ।

स्वास्थ्यचौकी भवनको निर्माण शुभारम्भ गर्न मन्त्री नै आउने भएपछि प्रबन्ध त्यही किसिमको थियो । संयोग धम्जावासीले गण्डकी प्रदेशका भौतिक विकास तथा पूर्वाधारमन्त्री रामशरण बस्नेतलाई मात्र स्वागत गरेनन्, एक नवजात शिशुलाई पनि स्वागत गरे ।

आइतबार बिहान ७ बजेर ६ मिनेट जाँदा पुरानो स्वास्थ्यचौकी भवनको प्रसूति कक्षमा स्थानीय जमुना भण्डारीले छोरालाई जन्म दिनुभयो । विसं २०२९ मा आफ्नै जिजु प्रेमबहादुर भण्डारीको अगुवाइमा खुलेको स्वास्थ्यचौकीमा ती शिशुले पहिलोपटक आँखा उघारे ।

‘रातिदेखि नै व्यथा लागेको रहेछ, हामीले बिहानपख मात्र थाहा पायौँ’ जमुनाका ससुरा हिराबहादुरले भन्नुभयो, “४ बजे स्वास्थ्यचौकीमा ल्यायौँ, ७ बजेर ६ मिनेट जाँदा बाबु जन्मियो ।” स्वास्थ्यचौकीको आधुनिक भवन शिलान्यासकै दिन नाति जन्मिदा औधी खुशी लागेको उहाँको भनाइ छ ।

कार्यक्रम स्थलमा भेला भएका आफन्त र गाउँलेले उहाँलाई अबिर र माला लगाएर बधाई, शुभकामना दिएका थिए । ‘बुबाको नेतृत्वमा स्वास्थ्यचौकी बनेको हो’ उहाँले भन्नुभयो, “नयाँ भवन शिलान्यासकै दिन जन्मेकाले नातिको नाम पनि शिलान्यास राख्यौँ ।” हिराबहादुरका बुबा प्रेमबहादुरको भने निधन भइसकेको छ ।

जमुनाले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिनुभएको हो । छोरी आरुषा भर्खर २० महीना पुगेकी छिन् । जमुनाका पति हेमसागर अध्ययनको सिलसिलामा काठमाडौँ हुनुहुन्छ । स्वास्थ्यचौकीका अनमी शारदा सापकोटा र कृष्णमाया पुनले जमुनालाई प्रसूति गराउनुभएको थियो ।

‘प्रसूति सहज रुपमै भयो’ अनमी कृष्णमायाले भन्नुभयो, “भवन शुभराम्भकै दिन जन्मेकाले हामीलाई पनि खुशी लाग्यो ।” प्रसूतिलगायत अन्य सेवामा स्वास्थ्यचौकीले गाउँलेको मन जितेको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विकले बताउनुभयो ।

उहाँले नयाँ बन्ने भवनबाट थप स्तरीय स्वास्थ्य सेवा प्रदान हुनेमा विश्वास व्यक्त गर्नुभयो । प्रसूति हुन आउनेको सङ्ख्या धेरै नभए पनि सेवाको गुणस्तरमा कुनै कमी नरहेको स्वास्थ्यचौकी व्यवस्थापनले जनाएको छ । शिलान्यासपछि बोल्दै मन्त्री बस्नेतले भवन समयमै सम्पन्न गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले आइतबारनै धम्जा, सायकटेरामा बहुउद्देश्यीय सामुदायिक भवन र असौजेमा आलु भण्डारण गृह निर्माणको शुभारम्भ गर्नुभएको थियो । रु एक करोड ४५ लाख ७६ हजारको लागतमा बन्ने स्वास्थ्यचौकी निर्माणको जिम्मा जुम्ली निर्माण सेवाले पाएको छ ।

यस्तै सायकटेरामा बन्ने धम्जा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको जिम्मा तिलक निर्माण सेवाले पाएको छ । प्रदेश सरकारले छुट्टाएको रु ५० लाख बजेटबाट उक्त भवनको काम अघि बढ्नेछ ।

असौजेमा बन्ने आलु भण्डारण एवं चिस्यान केन्द्रलाई गाउँपालिकाले चालु आवमा रु आठ लाख बजेट छुट्टाएको छ । किसानले उत्पादन गरेको आलुको बीउ संरक्षणका लागि चिस्यान केन्द्र बनाउन लागिएको वडा अध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो ।

स्वास्थ्यचौकी भवन देउरालीमा बनाउने कि सायकटेरामा भन्ने विवादले नयाँ भवन बन्न सकेको थिएन । लामो विवाद सुल्झिएपछि देउरालीमा स्वास्थ्यचौकी र सायकटेरामा बन्ने सामुदायिक भवनमा स्वास्थ्य एकाइ राख्ने सहमति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.