सेवाको पहुँच अभिवृद्धि गर्न आग्रह

काठमाडौँ, ४ चैत : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले परिवार नियोजनको सेवामा पहुँच अभिवृद्धि गराउन सरकारले प्राथमिता दिने बताउनुभएको छ ।

प्रथम परिवार योजना सम्मेलनको उद्घाटनमा उहाँले परिवार नियोजनका सेवा किन प्रभावकारी भएनन् भन्ने बारेमा गम्भीर समीक्षा गर्न आग्रह गर्नुभयो । ‘पहुँचबाहिर रहेकालाई समेट्ने’ नाराका साथ आजदेखि यहाँ शुरु भएको दुईदिने सम्मेलनमा सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता छ । नेपालमा परिवार नियोजनको सेवा सुरुआत भएको करीब छ दशकमा आधुनिक परिवार नियोजनको साधन प्रयोग दर ४३ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन । कूल प्रजनन दर २.३ मा झरेको छ ।

उपप्रधानमन्त्री यादवले अगामी दिनमा परिवार नियोजन कार्यक्रममा लगानी अभिवृद्धि गरिने चर्चा गर्दै परिवार नियोजनका सेवालाई विशेष गरी युवायुवतीको पहुँचमा पु¥याइनेछ भन्नुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले संविधान प्रदत्त सुरक्षित मातृत्व तथा प्रजनन अधिकार कार्यान्वयन गर्न ऐन जारी भएको र व्यवस्थित परिवार योजनाले समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

परिवार कल्याण महाशाखाको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको आर्थिक एवम् प्राविधिक सहयोगमा आयोजित सो सम्मेलनलाई सम्बोधन गर्दै कोषका नेपाल निर्देशक लुब्ना बाक्वीले परिवार योजनामा लगानी बढाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.