फर्मा एण्ड हेल्थ एक्सपो हुँदै 

भरतपुर, ११ फागुन : मरणोपरान्त अङ्गदानको सामाजिक अभियानसहित यहाँ यही फागुन १७ गतेदेखि सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ हुने भएको छ । प्रदर्शनी केन्द्रमा हुने सातौँ संस्करण पहिलोपटक काठमाडौँ बाहिर भरतपुरमा हुन लागेको हो । यसअघिका छ संस्करण काठमाडौँमा सम्पन्न भएका थिए ।

मेडिकल हवको रुपमा विकास हुँदै गइरहेको चितवनलाई औषधि उद्योगको हवका रुपमा विकास गर्ने योजनासहित एक्स्पो आयोजना गरिएको नेपाल औषधि उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष तथा एक्स्पो आयोजक मूल समारोह समितका संयोजक नारायणबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले चितवनमा निर्माण हुनलागेको औद्योगिक क्षेत्रलाई औषधि उद्योगको हव बनाउन पहल भइरहेको जानकारी दिनुभयो ।

“नेपालमा अतिआवश्यक औषधिको ८० प्रतिशत उत्पादन यही गर्न सकिन्छ”, क्षेत्रीले भन्नुभयो, “नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनका लागि पनि एक्सपो आयोजना गरेका हौँ ।” नेपाल औषधि उत्पादक सङ्घको आयोजनामा हुने एक्स्पोको सहआयोजकमा औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएसन, नेपाल प्राइभेट अस्पताल सङ्घ र नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घलगायत छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा विगतको सफलताको अनुभूतिलाई आत्मसाथ गर्दै प्रर्दर्शनीमा सम्बन्धित विधाका चिकित्सक, फर्मासिष्ट, स्वास्थ्यकर्मी, उद्यमी, सम्बन्धित विधामा अध्ययनरत विद्यार्थी गरी करीब पाँच हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । आयोजकले विद्यार्थीका लागि नेपाली तथा अन्तर्राष्ट्रिय उद्योग, उपकरण, प्रविधि, उत्पादन र बजार व्यवस्थापनलाई बुझ्न मेला सुनौलो अवसर हुने विश्वास लिएको छ ।

करीब २०० विभिन्न औषधि उत्पादनसँग सम्बन्धित उद्योग, नेपालका मेडिकल कलेज तथा अस्पताल, स्वास्थ्य तथा औषधिसँग सम्बन्धि कक्ष प्रदर्शनीमा रहनेछन् । तीन दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न विषयका नौ कार्यपत्र प्रस्तुत हुनेछन् । नेपालमा ५३ औषधि उद्योग छन् भने दर्जन बढी उद्योग निर्माणको चरणमा छन् । आयुर्वेद उद्योग पनि साना–ठूला गरी करीब ५० उद्योग छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.