अग्निकर्म उपचार पद्धतिको सफल परीक्षण

दीपक बोहरा । लमही, २४ माघ : मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय दाङमा अग्निकर्म पद्धतिबाट उपचार सेवा शुरु भएको छ ।

आयुर्वेद चिकित्सा पद्धतिअन्तर्गत नेपालमै पहिलोपटक अग्निकर्ममार्फत दाङमा छ जनाको उपचार गरिएको चिकित्सालयका निर्देशक डा रामकामेश्वर ठाकुरले बताउनुभयो । “अहिलेसम्म नेपालमा यो अग्निकर्मको उपचार पद्धति कुनै पनि आयुर्वेद अस्पतालमा शुरु भएको छैन”, उहाँले भन्नुभयो, “पहिलोपटक दाङमा हामीले यो अग्निकर्म पद्धतिबाट उपचार शुरु गरेका छौँ ।”

बढी काम गर्दा हात तथा खुट्टाको मासुमा चाप हुने र त्यसरी चाप पर्दा मासुले काम गर्न नसक्ने (ठेला परेको) अवस्थामा त्यसको उपचार गर्ने पद्धतिनै अग्निकर्म भएको उहाँको भनाइ छ । यो पद्धतिअन्तर्गत आगोले उक्त मासुलाई जलाएर फाल्ने गरिन्छ । “धेरै काम गर्दा बढी मासु भएको भागमा त्यसमा पनि बढी हात र खुट्टाको केही मासु काम नगर्ने अवस्थामा हुन्छ”, उहाँले भन्नुभयो, “त्यसलाई आगोको माध्यमबाट उपचार गर्ने पद्धति अग्निकर्म हो ।”

दाङ तुलसीपुर उपमहानगरपालिका–१९ कि ३६ वर्षीया इन्द्रा योगीको खुट्टामा परेको ठेला हटाएपछि अग्निकर्मको सफल परीक्षण भएको हो । अहिलेसम्म यो सेवा निःशुल्क प्रदान गरिएको भए पनि अब भने शुल्क लगाउने व्यवस्था मिलाउने उहाँले भन्नुभयो । “अस्पतालमा नयाँ सेवा शुरु भएको छ, यसले अस्पताललाई आर्थिक हिसाबले थप बलियो बनाउन मद्दत पुग्छ”, उहाँले भन्नुभयो, “त्यसैले यो सेवालाई पनि नियमित रुपमा अगाडि बढाउँछौँ ।” उहाँले अग्निकर्म सेवा लिएबापत रु दुई हजार शुल्क लिने तयारी रहेको बताउनुभयो ।

अग्निकर्म उपचार पद्धतिका लागि थप पूर्वाधार पनि नचाहिने तथा जनशक्ति पनि आवश्यक नपर्ने निर्देशक डा ठाकुरको भनाइ छ । आयुर्वेद चिकित्सामा स्नातक गरेकाले यो सेवा प्रदान गर्न सक्ने उहाँको भनाइ छ । परीक्षण सफल भएको भन्दै यो अभ्यास सबै आयुर्वेदले गर्नेसमेत उहाँले बताउनुभयो ।

यो सेवा शुरु भएसँगै बिरामी पनि खुशी भएका छन् । लामो समयदेखि खुट्टाको मासुमा बसेको ठेलाले गर्दा हिँड्न पनि अठ्यारो थियो । अग्निकर्ममार्फत उपचार गराएपछि सहज भएको तुलसीपुर–१९ कि इन्द्रा योगीले बताउनुभयो । “लामो समयदेखि ठेला आएको थियो, तर फाल्न सकिएको थिएन ।”, उहाँले भन्नुभयो, “यो फालेपछि भने हिँडडुल गर्न सहज भएको छ ।”

अहिले अग्निकर्म हुने थाहा पाएपछि बिरामीको सङ्ख्या पनि बढिरहेको निर्देशक डा ठाकुरले बताउनुभयो । “अग्निकर्मको सफल परीक्षण भएको जानकारी पाएपछि अहिले धेरै जना उपचारका लागि आउने गर्नुहुन्छ” उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।” अहिले आफैँले यो सेवा प्रदान गरिरहेको समेत उहाँको भनाइ छ ।

कुनै समय सुनसान हुने गरेको आयुर्वेद चिकित्सालयमा अहिले दैनिक १०÷१२ जना आउने गरेको निर्देशक डा ठाकुरले जानकारी दिनुभयो । क्षारसूत्र, पञ्चकर्मलगायतका सेवा थप गरेपछि बिरामीको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ छ । अहिले दैनिक १०÷१५ ले क्षारसूत्र सेवा लिने गरेका छन्, भने १०÷१५ ले पञ्चकर्माको सेवा लिने गरेको उहाँले बताउनुभयो । “क्षारसूत्र सेवा लिन दैनिक १०÷१५ भन्दा बढी आउनुहन्छ, पञ्चकर्ममा पनि त्यस्तै हुन्छ”, उहाँले भन्नुभयो, “म एक्लै छु, त्यसैले रातिसम्म बसेर सेवा दिने गरेको छु ।”

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal