गुणस्तरीय सेवा दिन स्वास्थ्य मन्त्री यादवको निर्देशन

रत्ननगर, २६ साउन : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चितवनको बिपी कोइराला मेमेरोयल क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरी गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ ।

उहाँले बिरामीको सेवामा ढिलासुस्ती नगरी सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री यादवले चितवनको क्यान्सर अस्पताललाई अन्कोलोजीको विषयमा एमसिएच र डिएम अध्ययनका लागि प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

अस्पतालको सेवालाई पूर्व क्षेत्रमा समेत लैजानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अस्पताललाई सुविधायुक्त बनाउन आवश्यक सहयोग गर्ने आश्वासनसमेत दिनुभयो । क्यान्सरको उपचारमा उत्कृष्ट संस्था बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत उहाँको भनाइ थियो ।

मन्त्री यादवले आज अस्पतालको रेडियो थेरापी, डाइग्नोसिस, प्याथोलोजी, डेकेयर, हस्पीस वार्ड र नवनिर्मित २०० श्ययाको भवनको स्थलगत निरीक्षक गर्नुभएको अस्पतालका कानूनी अधिकृत गोकर्ण सापकोटाले जानकारी दिनुभयो ।

सो क्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक निर्मल लामिछानेले अस्पतालका योजना र गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । हाल क्यान्सर अस्पताल २२५ श्ययामा सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.