ककस ग्रुप गठन हुने
काठमाडौँ, २३ मङ्सिर : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य देशका बीचमा क्षयरोग र एचआइभी सङ्क्रमण न्यूनीकरण गर्न अन्तरदेशीय संसदीय समिति (ककस ग्रुप) गठन हुने भएको छ ।
यसका लागि सार्क क्षयरोग केन्द्रले छिट्टै सो सम्बन्धी गोष्ठी आयोजना गर्ने तयारी गरेको छ । सन् २०१७ मा यस क्षेत्रका १५ देखि ४९ वर्ष उमेरका ३८ लाख जनता क्षयरोगबाट प्रभावित भएका थिए । सोही वर्षमा करीब २३ लाख एचआइभीबाट सङ्क्रमित हुन पुगेको सार्क क्षयरोग केन्द्रले जनाएको छ । क्षयरोग र एचआइभी सङ्क्रमणका वर्तमान अवस्थाबारे प्रतिनिधिसभाअन्तर्गत शिक्षा र स्वास्थ्य समितिका सदस्यलाई जानकारी दिन सो केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती रोग न्यूनीकरण गर्न संसदीय ककस ग्रुप गठन गर्न लागिएको जानकारी दिइयो ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म क्षयरोग र एचआइभी सङ्क्रमणलाई जनस्वास्थ्यको प्रमुख समस्याबाट मुक्त पार्ने घोषणा गरेको छ । कार्यक्रममा शिक्षा र स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले शिक्षा र स्वास्थ्यमा लगानी बढाउन सरकारले ध्यान दिनुपर्छ भन्नुभयो । समितिका सदस्य चित्रलेखा यादवले जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा रहेका क्षयरोग र एचआइभी सङ्क्रमणलाई न्यूनीकरण गर्न सबै क्षेत्र संवेदनशील बन्नुपर्छ भन्नुभयो ।
समितिका सदस्य सुरेश राई, मनकुमारी जिसी, नारायणप्रसाद मरासिनी, रेखाकुमारी झा, भैरबहादुर सिंह र सन्तबहादुर थारुले जनस्वास्थ्य समस्याबाट क्षयरोग र एचआइभी सङ्क्रमणलाई मुक्त पार्न सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा सार्क क्षयरोग केन्द्रका निर्देशक डा राजेन्द्र पन्त र राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भीमसिंह तिंकरीले क्षयरोग र एचआइभी सङ्क्रमण न्यूनीकरण गर्न भएका प्रयासबारे जानकारी दिनुभएको थियो ।
