बत्तीस वर्षमा दुई लाखको आँखाको शल्यक्रिया

नेपालगञ्ज, १९ मङ्सिर : नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ ।

अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच तथा ३८४ जनाको शल्यक्रिया गरेको बर्माले जानकारी दिनुभयो । सो आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी आठ आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ ।

“आँखा उपचार केन्द्रमा अत्याधुनिक उपचार पद्धतिको विस्तारको तयारी थालेका छौँ”, सङ्घका बाँके जिल्ला अध्यक्ष रतन टण्डनले भन्नुभयो । विसं २०४३ फागनुमा १० शय्याबाट सेवा शुरु गरेको सो अस्पताललाई हाल २५० शय्यामा विस्तार गरिएको छ । अस्पतालले पूर्णकालीन ओपीडी, पेइङ क्लिनिक, द्रुतगतिमा शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ । सङ्घका सचिव शान्ति श्रेष्ठले भारतीय दूतावासको रु पाँच करोड तथा जिल्ला समन्वय समितिको परिपूरक सहयोग रु एक करोड ४५ को लागतमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, बिरामीका लागि निजीकक्ष, चिकित्सक आवासलगायत संरचना निर्माण गरिएको जानकारी दिनुभयो ।

चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध 

बाँकेमा अबदेखि चर्को आवाजमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ । मङ्गलबार नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा सहभागी धर्मगुरु, राजनीतिक दलका पदाधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, प्रहरी र सरोकारवाला पक्षबीच मठमन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, विवाह, भोजभतेर तथा अन्य कुनै पनि प्रकारका कार्यक्रममा चर्को आवाजमा लाउडस्पिकर र डिजे बजाउन नपाइने सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बैठकमा सहभागीले चर्को आवाजमा बजाइने गरेको लाउडस्पिकर र डिजेले विद्यालय, अस्पताल, घरपरिवारलगायत क्षेत्रमा असर परेकाले यसलाई रोक्नुपर्नेमा सहमति जनाएका थिए ।

पाँच बुँदे प्रतिबद्धता 

बाँकेको डुडुवा गाउँपालिकाका जनप्रतिनिधिले पाँच बुँदे लिखित प्रतिबद्धता गरेका छन् । सो गाउँपालिको सेवा, सुविधाको प्रभावकारिताका विषयमा गरिएको सार्वजनिक सुनुवाइमा उपस्थित जनप्रतिनिधिले मदरसाको स्तरोन्नति, एक महीनाभित्र एम्बुलेन्स खरीद, गाउँपालिकाको वडा नं ५ मा ल्याब सञ्चालन, शैक्षिक सुधार अभियान सञ्चालन र योजनाको पारदर्शिता तथा प्रभावकारिताको अनुगमन गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले सार्वजनिक सुनुवाइमा सहभागीले दिएका सुझावका आधारमा योजना र कार्यक्रम सञ्चालन गर्न गाउँपालिका कटिबद्ध रहेको बताउनुभयो । सार्वजनिक सुनुवाइमा सहभागीले गाउँपालिकामा पक्की बाटो, नाला, पुल निर्माण गर्नुपर्ने, डुडुवा नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, सामाजिक भत्ता वितरणलाई सहज र सरल बनाउनुपर्नेलगायत माग राखेका थिए । गाउँपालिकाको आयोजना र बागेश्वरी असल शासन क्लब (बास) को सहजीकरणमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal