हिमाली जिल्ला दार्चुलामा मलेरियाका बिरामी फेला

दार्चुला, २२ असोज : स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले भारतसँग सीमा जोडिएका क्षेत्रमा सहायता कक्ष स्थापना गर्न निर्देशन गरेको दुई दिनपछि यहाँस्थित जिल्ला अस्पतालमा मलेरियाका एक बिरामी भेटिएका छन् ।

नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका महाकाली नगरपालिका–३ जायझुलकी १५ वर्षीया दीपा भट्टमा मलेरिया भएको भेटिएको हो । लामो समयदेखि ज्वरो आएपछि अस्पताल पुगेकी भट्टको प्रयोगशाला जाँचपछि मलेरिया भेटिएको जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिनुभयो ।

हिमाली जिल्लाअन्तर्गत पर्ने दार्चुलामा पहिलो पटक मलेरियाका बिरामी भेटिएको हो । यसअघि जिल्ला औलो न्यून भएको क्षेत्रका रुपमा चिनिएको थियो । सदरमुकाम खलङ्गासँगै जोडिएको क्षेत्रमा मलेरियाका बिरामी भेटिएपछि उच्च सतर्कता अपनाइएको जोशीले बताउनुभयो । उहाँमा मलेरिया देखिएपछि सेती अञ्चल अस्पताल धनगढीबाट आजै औषधि मगाएर दिइएको छ । सरुवा रोग भएका कारण उहाँलाई विशेष निगरानीमा राखेर औषधि सेवन गर्न दिइएको उहाँले बताउनुभयो ।

दार्चुलास्थित महाकाली नगरपालिकाका खलङ्गा, दत्तु र मालिकार्जुन गाउँपालिकाको जौलजीवी तथा व्यास गाउँपालिकाको तिगरमा सहायता कक्ष स्थापना गर्न पत्राचार गरिएको जोशीले बताउनुभयो ।

यसैबीच मलेरियाका बिरामी भेटिएपछि महाकाली नगरपालिकाको जाइझुलमा मङ्गलबार स्वास्थ्यकर्मीको टोली परिचालन हुने भएको छ । गाउँमै किशोरीमा मलेरिया भेटिएपछि गाउँका अन्य बिरामीको अवस्था जाँच गर्नका लागि स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएका कारण सर्वसाधारणलाई झुलको प्रयोग गरेर सुत्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

भाइरलका बिरामी जिल्लाभरि

जिल्लाका सबै क्षेत्रमा अहिले भाइरल ज्वरोका बिरामी बढेका छन् । नौगाड गाउँपालिका, व्यास गाउँपालिका र महाकाली नगरपालिका क्षेत्रमा भाइरलका बिरामी बढेका छन् । मौसममा देखिएको परिवर्तनका कारण भाइरलका बिरामी बढेकोे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले गर्मीबाट चिसो याम शुरु हुन लागेका कारण सबै स्वास्थ्य संस्थामा भाइरलका बिरामी देखापरेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयमा मात्र दैनिक करीब एक सय बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत जोशीले बताउनुभयो । स्वास्थ्य संस्थामा आएर प्रयोगशाला परीक्षण गर्दा दैनिक १०–१५ जना उच्च प्रकारको भाइरल र टाइफाइडका बिरामी देखिने गरेको ल्याब टेक्निशियन दीपक विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.