घर निर्माणमा सघाउँदै आवास निर्माण साथी

दीपक श्रेष्ठ । गोरखा, १४ कात्तिक : घर बनाउन अलमलमा परेका गोरखाका भूकम्पपीडितलाई आवास निर्माण साथीले सहजीकरण सेवा प्रदान गरेको छ ।

भूकम्प गएको करीब ४० महीना बितिसक्दा पनि निर्माण शुरु गर्न नसकेका पीडितको घर छिटो बनाउन सहजीकरण शुरु गरिएको हो । नेपाल आवास पुनःनिर्माण परियोजना अन्तर्गतको आवास निर्माण साथीले जिल्लाका ६ स्थानीय तहका ४२ वडामा पुगेर घर निर्माण शुरु गर्न नसकेका असाहय, विपन्नलगायत सबै खालका सङ्कटापन्न लाभग्राहीलाई सामाजिक, प्रशासनिक र प्राविधिक सहयोग प्रदान गर्दै आएको हो ।

‘घर बनाउन कसरी शुरु गर्ने भन्नेमा अन्योल भएको थियो,’ पालुङटार नगरपालिका–७ माझीगाँउ च्याङ्लीका भूकम्पपीडित सरिता माझीले भन्नुभयो, “आवास निर्माण साथी आएर नक्सा बनाउन सहयोग गरेपछि काम शुरु गर्न सजिलो भएको छ ।”

आवास निर्माण साथीले घरको जग खन्ने र त्यसमा कस्ता खालका सामग्री प्रयोग गर्ने भन्ने सुझाव दिन्छ । “उहाँहरु आएर बिम यसरी हाल्नुपर्छ, यसरी जग खन्नुपर्छ भनेर सिकाइदिनुभयो, हामीले त्यही अनुसार घर बनाउन थाल्यांै, नभए यति छिटो घर बन्ला भन्ने लागेकै थिएन ।” माझीले भन्नुभयो ।

करीब २८ दिनमा घरको छाना राख्ने काम सक्नुभएका माझीले अवास निर्माण साथीको सहजीकरणले छिटो घर बनाएको बताउनुभयो । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि घर बनाउन नसक्दा अब घर बनाउन सकिदैन की भन्ने लागेको थियो उहाँले भन्नुभयो, “उहाँहरुको सहयोगले घर बनाउन सजिलो भयो ।”

च्याङ्लीका अर्का भूकम्पपीडित राजेश कुमाल सो संस्थाको सहयोग लिएर घर बनाउन सजिलो भएको बताउनुहुन्छ । “खै कुन संस्थाबाट हो, इञ्जिनीयर दुई दिन बिराएर आउनुहुन्थ्यो, उहाँहरुले नै यसो गर्नुस्, उसो गर्नुस् भन्नुहुन्थ्यो, त्यसले गर्दा घर बनाउन सहज भयो”, कुमालले भन्नुभयो । घर बनाउन मात्र होइन कुमालको अनुदान किस्ता रकम झिक्न निवेदन लेखिदिने, फारम भर्ने र किस्ता आए नआएको जानकारी दिनेलगायतका काममा समेत सहयोग प्राप्त भएको कुमालले जानकारी दिनुभयो ।

“उहाँहरु नआउँदा घर बनाएर पनि किस्ता पास हुन्छ कि हुदैन भन्ने चिन्ता हुन्थ्यो, जब उहाँहरु आएर सहयोग गर्न थाल्नुभयो ढुक्कले काम गर्न पाइयो” कुमालले थप्नुभयो । पालुङटार नगरपालिका–७ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठ उक्त संस्थाको सहयोगले वडामा पुनःनिर्माणले गति लिएको बताउनुहुन्छ ।

“६ महीनाअघि ८० प्रतिशत भूकम्पपीडितले पहिलो किस्ता लिएर पनि घर बनाउन शुरु गरेका थिएनन्, संस्थाका कर्मचारी घरघरमा गएर सहयोग गर्न थालेपछि पुनःनिर्माणले राम्रोसँग काम अगाडि बढेको छ” ,वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । कतिपय लाभाग्राहीको सूचीमा परेका भूकम्पपीडितलाई आफू लाभग्राहीको सूचीमा परेको समेत थाहा नपाएको अवस्थामा त्यसको बारेमा सो संस्थाले जानकारी दिन्छ । वडा नं– ७ मा सम्झौता गरेका ९५ प्रतिशत लाभग्राहीमध्ये ९० प्रतिशतले दोस्रो किस्ताको रकम लिएका छन् ।

आवास निर्माण संस्थामा काम गर्ने सोही ठाउँकी सरिता कुमालले भूकम्पपीडितलाई लाभग्राहीको सूचीमा परे नपरेकोदेखि लिएर घर निर्माण गरी सम्पन्न नहुँदासम्म सहयोग गर्दै आएको बताउनुहुन्छ । कुमालले भन्नुभयो, “शुरुशुरुमा आफै घर बनाउन शुरु नगरेका पीडितको घर खोज्दै जाने गरेको भए पनि अचेल घर बनाउन थालेकाले फोन गरेर लिन्छन् ।”

‘भूकम्प प्रतिरोधी घर निर्माण शुरु नगरेका भूकम्पपीडितसँग छलफल गर्दा किस्ता कहिले झिक्ने, घर बनाउदा कस्ता सामग्रीको प्रयोग गर्ने भन्नेमा अझै अन्योल रहेको पाइयो,’ परियोजनाका जिल्ला संयोजक तारा ढकालले भन्नुभयो,“सहजीकरण शुरु गरेपछि लाभग्राही पीडितलाई काम गर्न सजिलो भएको छ ।” जिल्लाभित्रका अजिरकोट गाउँपालिका, पालुङटार नगरपालिका, शहीद लखन गाउँपालिका, धार्चे गाउँपालिका र गोरखा नगरपालिकाभित्रका घर निर्माण शुरु नगरेका लाभाग्राही भूकम्पपीडितलाई सहजीकरण प्रदान गरिँदै आएको परियोजना जिल्ला संयोजक ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.