आज ७३औं प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ७ फागुन : आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ।

प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ। प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको थियो।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.