चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, ६ पुस : सर्वोच्च अदालतले विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो ।

‘थुनामा बसेका कैदीबाट आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भनी निवेदन पेश भएको रहेछ’, सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठहर्‍याएर थुनामुक्त गर्नु भनी आदेश जारी गरेको हो ।’

शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने भनेको हो ।

शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो ।

जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो। सन् २००३ देखि केन्द्रीय कारागार सुन्धाराको गोल घरमा कैद सजाय काटिरहेका छन्।

को हुन् चार्ल्स शोभराज ?

चार्ल्स शोभराज तिनै व्यक्ति हुन् जसले कुनै बेला ‘नेपालको एअरपोर्टबाट हात्ती छिराइदिन सक्छु’ भनेका थिए । भारतीय मूलका फ्रेन्च नागरिक शोभराजको वास्तविक नाम हाचन्ड भओनानी गुरुमुख चार्ल्स शोभराज हो । सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका उनका बाबु भारतीय मूलका हुन् भने आमा भियतनामी हुन् ।

सन् १९६३ मा १९ वर्षको उमेरमा पहिलो पटक पेरिसमा चोरी प्रयास गर्दा उनी एक वर्ष जेल परे । जेल बसाईकै क्रममा अन्डरवर्ल्ड समूहसँग सम्बन्ध विस्तार गरेका उनी जेलबाट छुटेपछि थप आपराधिक क्रियाकलापमा संलग्न भए ।

फ्रान्समा प्रहरीले निगरानी बढाएपछि उनी सन् १९७० मा भारतको मुम्बई आए जहाँ उनले सुरुमा कार चोर्ने र बेच्ने काम थाले ।

भारतबाट इरान, टर्की, ग्रिस हुँदै उनी थाइल्याण्ड पुगे जहाँ उनले तीन पर्यटकको हत्या गरे । सन् १९७५ मा  भएको उक्त घटनाले थाइल्यान्डमा तहल्का मच्चायो । हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी पुनः भारत छिरे । सन् १९७० देखि १९७६ कोबीचमा मात्र उनले २० भन्दा बढीको हत्या गरेको बताइएको छ ।

सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गर्‍यो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाएँ सुनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.