गोल्डेन सहकारीको नवौं साधारणसभा सम्पन्न
पोखरा, ६ असोज । सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यमा गोल्डेन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ।
कार्यकममा बोल्दै मन्त्री अर्यालद्वारा यस सहकारीलाई नेपालकै उत्कृष्ट सहकारी बन्न सकोस् भन्ने शुभकामना दिदैं सहकारी मार्फत सहकार्य गरी आर्थिक उन्नयन गर्नुपर्ने बताउनुभयो। उहाँले सोही अवसरमा बोल्दै वर्तमान सरकार सहकारी मैत्री ऐन र नियमावलीहरु निर्माण र संशोधनको क्रममा रहेको बताउनुभयो।
उहाँले सहकारीहरुलाई वचत संकलन र ऋण प्रवाहमा मात्र सिमित नरही कृषि, व्यापार, पर्यटन, उद्योग लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने कुरामा जोड दिनुभयो। सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभासद माननीय मिनप्रसाद गुरुङले समृद्द नेपाल सुखि नेपालीको नारालाई साकार पार्न सहकारीको अहम भूमिका रहने कुरा बताउँदै सहकारीको मूल मर्मबाट विचलित नभई सहकारी संस्थाहरु अगाडी बढनुपर्ने बताउनुभयो।
साधारणसभामा अध्यक्ष विष्णुप्रसाद बरालद्वारा संस्थाको वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गर्दै १०८० जना कूल शेयर सदस्य संख्या रहेको, संस्थामा शेयर पुँजी ६ करोड १६ लाख ३६ हजार, निक्षेप २३ करोड १० लाख ५ हजार ४ सय ८५ र कर्जा लगानी २७ करोड २५ लाख र जम्मा सम्पत्ती ३२ करोड रहेको जानकारी गराउनुभएको थियो।
साधारणसभामा संस्थाका कोषाध्यक्ष गोपाल बहादुर गुरुङले आ.व. २०७४/०७५ को लेखापरीक्षण प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक मोतिप्रसाद पौडेलबाट लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा संस्थामा विभिन्न योगदान पुराउनुहुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।
सो अवसरमा उत्कृष्ट वचत कारोबार र नियमित कर्जातर्फ ५/५ जना, शेयर सदस्यका सन्तानहरुमध्येमा SEE मा उत्कृष्ट अंक ल्याउनेहरु ३ जना र +२ मा अंक ल्याउने मध्येका २ जनालाई नगद र सम्मान प्रदान गरियो भने स्नातक र स्नातकोत्तरतह उतीर्ण गर्ने सहित जम्मा ४८ जनालाई सम्मानपत्रले सम्मान गरियो।
नेपाल सरकारबाट प्रवल जनसेवाश्री पदकबाट विभुषित हुनुभएका यस संस्थाका सल्लाहाकार विष्णुप्रसाद खनाल र नेपाल रेडक्रस सोसाइटीबाट उत्कृष्ट शिक्षक नायक घोषित संस्थाका सञ्चालक समिति सदस्य राजेश कुमार घिमिरेलाई पनि सोही अवसरमा सम्मानित गरिएको थियो।
त्यसैगरी संस्थाले यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका बजार व्यवस्थापक यामप्रसाद पौडेललाई पुरस्कृतसमेत गरेको छ।
कार्यक्रममा कास्की वचत संघका सचिव दिपकप्रकाश आचार्य, जिल्ला सहकारी संघका दिपक बाँस्तोला, संस्थाका सल्लाहाकार संयोजक गुणाखर सापकोटा, सम्मानित विद्यार्थी सृष्टि शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो।
