बैंकिङ कारोवारमा ठगी गर्ने तीन वर्षपछि पक्राउ

काठमाडौँ, २० कात्तिक : बैंकिङ कारोवारका नाममा ठगी गर्ने एक व्यक्ति तीन वर्षपछि पक्राउ परेका छन् । काठमाडौँ साङ्ला घर भई हाल चितवन बस्दै आएका रवीन्द्र अधिकारीलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँको २०७३ असोजको फैसलाअनुसार बैंकिङ कारोवारका नाममा ठगी गरेकामा दोषी ठहर गर्दै अधिकारीलाई एक वर्ष कैद र रु २६ लाख ७५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । फरार रहेका अधिकारीलाई पक्राउ गरीे जिल्ला अदालत चितवनमा पेश गरिएकामा आजै अदालतले कैद भुक्तानका लागि भरतपुर कारागार चलान गरेको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

अधिकारीले काठमाडौँको गोङ्गबुमा आफू सचिव बनेर बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी बैंकिङ कारोवार सञ्चालन गरेका थिए । केही व्यक्तिसँग मिलेर उनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरेको तथा निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी भागेपछि जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.