ग्रामीण क्षेत्रमा वित्तीय संस्थाको पहुँच वृद्धि जरुरी

रुपन्देही, ३० साउन : नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्ने बताउनुभएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिकोत्सव समारोहको आज बुटवलमा उद्घाटन गर्दै गभर्नर नेपालले शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिनुभयो ।

“देशभर पाँच हजार ५६४ शाखा छन् तर ग्रामीण क्षेत्रमा अझै पुग्न सकेका छैनन् । ग्रामीण भेगमा पैसा छ तर लगानी र बचत के हो थाहा छैन”, उहाँले भन्नुभयो । ५५ प्रतिशतले मात्रै बैंकबाट ऋण लिने गरेको गभर्नर नेपालले बताउनुभयो ।

उहाँले बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभिएका कारण वित्तीय सबलीकरण र संस्थात्मक व्यवस्थापनमा सहज भएको बताउनुभयो । “हिजो मर्ज प्रक्रिया पीडादायी भए पनि जर्जर अवस्थामा पुगेका संस्था मर्ज गर्दा परिणाम राम्रो आएको छ । आगामी दिनमा मर्ज सहज र सरल हुन्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कार्कीले वित्तीय संस्थामा बढेको अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्ने बताउनुभयो । “वित्तीय क्षेत्रमा चुनौती बढी छन् । ऋणी कसलाई पत्याउने नपत्याउने भन्नुे कुरा जटिल छ”, उहाँले भन्नुभयो ।

चौतारी विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जगत पोखरेल, कर्मचारी सङ्घका अध्यक्ष नवराज ढकाल, वित्तीय कर्मचारी सङ्घका अध्यक्ष रमेश जिसी लगायतले बोल्दै वित्तीय संस्था सफल बनाउने हात कर्मचारीको रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.