मादीमा आठ बैंकले लगानी गर्ने

काठमाडौँ, ३१ साउन : सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले रु पाँच अर्ब ७५ करोड लगानी गर्ने भएका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा वित्तिय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भयो । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र सुपर मादी हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले हस्ताक्षर गर्नुभयो ।

कूल ४४ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको लागत रु सात अर्ब ६५ करोड रहेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा आयोजनास्थल रहेको सो जलविद्युत् आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा सानिमा बैंकले रु एक अर्ब २५ लाख, एनआइसी एशिया बैंकले रु ८५ करोड, एनसिसी बैंकले रु ७५ करोड, सनराइज बैंकले रु ७५ करोड कुमारी बैंकले रु ७० करोड, कृषि विकास बैंकले रु ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले रु ६० करोड र प्रभु बैंकले रु ५० करोड लगानी गर्नेछन् । बाँकी रकम भने लगानीकर्ताले नै लगानी गर्ने कार्यकारी अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.