‘बैंकिङ, बीमा, पूँजीबजार’ प्रदर्शनी शुरु
रुपन्देही, ११ माघ : आम नागरिकलाई बैंकिङ सूचना प्रवाह गर्ने उद्देश्यले ‘बैंकिङ, बीमा, पूँजीबजार’ प्रदर्शनी आजदेखि बुटवलमा शुरु भएको छ ।
“वित्तिय जागरण : राष्ट्रिय अभियान’ कार्यक्रमअन्तर्गत मिडिया इन्टरनेशनलको आयोजना तया नेपाल राष्ट्र बैंकको प्रर्वद्धनमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको एक समारोहका बीच उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीबी नेपालले मुलुकको अर्थतन्त्र बलियो बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
उहाँले खाद्यान्न आयातमा देशको ठूलो पूँजी बाहिरिएकाले यसलाई रोक्न स्वदेशमै लगानी गरी उत्पादन बढाउनुपर्ने धारणा राख्नुभयो । “पछिल्लो पाँच महीनाको अवधिमा रु पाँच अर्बको तरकारी र रु नौ अर्ब बराबरको चामल आयात गरिएको छ ।”, उहाँले भन्नुभयो, “देशको पूँजी बाहिरिएर आर्थिक समृद्धि सम्भव छैन ।” उहाँले आम नागरिकमा बैंकसँग कारोवार गर्ने बानीको विकास गरी वित्तीय पहुँच विस्तार गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वित्तीय साक्षरताले नै वित्तीय पहुँच बढ्ने धारणा राख्नुभयो । डेभलपमेन्ट बैंकर्स एशोसिएशनका उपाध्यक्ष प्रकाश पौडेलले प्रदेशमा थप उद्यमीको सिर्जना गरी उत्पादनमा प्रदेश नं ५ अगाडि छ भन्ने सन्देश दिनु जरुरी रहेकोमा जोड दिनुभयो ।
वित्तीय जागरण : राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहुँच बढाउन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहुँच बढाउने उद्देश्यले बुटवलको कालिका मानव ज्ञान माविको प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा बीमा र बैंकिङसम्बन्धी ४० वटा कक्ष रहेका संयोजक निर्दोषले जानकारी दिनुभयो । प्रदर्शनी शनिबारसम्म चल्ने छ ।
