हिमालयन र सिटिजन बैंकको साधारणसभा सम्पन्न
काठमाडौँ, ३० पुस : हिमालयन बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभाले शेयरधनीलाई पाँच प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकको आज यहाँ सम्पन्न साधारणसभाले शेयर लाभांशसहित १० दशमलव ७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो । शेयर लाभांशको वितरणपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ५२ करोड दुई लाख ५५ हजार ८४४ पुग्नेछ । साधारणसभामा बैंक सञ्चालक समितिका तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आव २०७४÷७५ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैंकले आव २०७४÷७५ को असार मसान्तस्म्म रु ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप सङ्कलन गरी रु ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालकमा विजयबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।
आजै सम्पन्न सिटिजन्स बैंक इन्टरनेशनलको १२औँ साधारणसभाले ३ दशमलव ६ प्रतिशत शेयर लाभांश र एक अर्ब ३१ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैंकले आव २०७४÷७५ को मुनाफाबाट शेयरधनीलाई रु २९ करोड १४ लाख ४५ हजार ७७३ बराबरको शेयर लाभांश र रु एक अर्ब ३१ करोड ३५ लाख ५६ हजार १४३ नगद लाभांश वितरण गर्ने भएको छ । सो बैंकले ८१ शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाईबाट सेवा प्रदान गर्दै आएको छ ।
