नवजीवन सहकारी संस्थाले १८ प्रतिशतका लाभांश वितरण गर्ने

धनगढी,२९ मङ्सिर : नवजीवन सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको कारोवारबाट भएको मुनाफाबाट शेयर सदस्यलाई प्रति शेयर १८ प्रतिशतका दरले लाभांश वितरण गर्न लागेको छ ।

देशकै अग्रणी र ठूलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको कैलाली, कञ्चनपुर र बर्दिया जिल्लालाई कार्य क्षेत्र बनाएको छ । संस्थाका शेयर सदस्य १७ हजार ७०५ पुगेका छन् । शुक्रबार यहाँ भएको वार्षिक साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाले आर्थिक वर्ष २०७४/७५ को आर्थिक कारोवारबाट रु १२ करोड चार लाख ७५ हजार मुनाफा आर्जन भएको उल्लेख गरिएको छ ।

लाभांश भुक्तानीका लागि मुनाफा भएको रकम मध्येबाट रु दुई करोड ६७ लाख २९ हजार व्यवस्था गरिएको जनाइएको छ । आय कर ऐन बमोजिम संस्थाले रु दुई करोड २८ लाख ३४ हजार आयकरवाफत कर राजश्व दाखिला गरिसको छ ।

अधिकृत पूँजी रु ५० करोड रहेको यो संस्थाको २०७४ असारसम्म चुक्ता शेयर पूँजी रु १६ करोड दुई लाख ५७ हजार ५०० पुगेको छ । विसं २०७५असार सम्ममा रु दुई अर्ब ६७ करोड २२ लाख ८४ हजार कूल निक्षेप सङ्कलन गरेको संस्थाको आर्थिक वर्ष २०७४/७५ सम्ममा लगानीमा रहिरहेको कर्जा रु दुई अर्ब २३ करोड ८७ लाख ४८ हजार रहेको छ ।

संस्थाले आगामी दिनमा शाखा विस्तार, शेयर सदस्यको सीप विकास, शिक्षा स्वास्थ्यमा सहयोग जस्ता कार्यक्रम सञ्चालन गर्न लागेको छ । संस्थाले कृषि, व्यापार, उद्योग, सेवा, निर्माण, विपन्न वर्ग र उपभोक्ता कर्जा लगायतका शीर्षकमा कर्जा प्रवाह गर्दै आएको छ ।

सांसद नारदमुनी रानाले सहकारी आन्दोलनलाई सफल बनाउनमा सबै लाग्नुपर्ने बताउनुभयो । समारोहमा संस्थाका अध्यक्ष चक्रबहादुर सिंह, प्रदेशसभा सदस्य डिल्लीराज पन्त, धनगढी उपमहानगरपालिकाकी उप प्रमुख सुशीला मिश्र भट्ट, पूर्व सांसद महेश्वर पाठक, संस्थापक सदस्य दीपकप्रशाद देवकोटालगायतले सहकारी आन्दोलनको बारेमा बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.