हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुयाँल

बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णु प्रसाईले बागमती हेटौंडामा प्रदेश भौतिक पूर्वाधार तथा योजनामन्त्री रामेश्वर फुँयाललाई शपथग्रहण गराउनुहुँदै (दाँया प्रदेश प्रमुख बिष्णु प्रसाई, बाँयाँ नवनियुक्त भौतिक पूर्वाधार तथा योजना मन्त्री रामेश्वर फुँयाल)। तस्वीर: अञ्जली थापा

हेटौँडा, ६ फागुन : वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

पदभार ग्रहण गरेपछि मन्त्री फुयाँलले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाउनुभएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पार्नुभएको योजना पूरा गर्न आफू लागिपर्ने बताउनुभयो । उहाँले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताउनुभयो । मन्त्री फुयाँलले भन्नुभयो, ‘‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु ।’’

उहाँले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताउनुभयो । कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । उहाँले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिवद्ध भएर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

काठमाडौँ जिल्ला क्षेत्र नम्बर ३ तथा प्रदेशसभा “ख” बाट प्रदेश सभा सदस्यमा निर्वाचित फुयाँल यसअघि संविधानसभा सदस्य हुनुहुन्थ्यो । नेकपा बाग्मती प्रदेशका प्रमुख सचेतक समेत रहनु भएका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बन्नुभएको हो । विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएका फुयाँल २०४१ सालमा तत्कालीन एमालेको सदस्य हुनुभएको थियो ।

विसं २०६५ सालमा सम्पन्न पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वाचित हुनुभएका फुयाँल २०४९ र २०५४ सालमा काठमाडौँको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.