प्रमुख दल सुशासन ल्याउन एकजुट हुनुपर्ने
हेटौँडा, २९ माघ : वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रर्साईले प्रमुख दलहरुले राष्ट्रमा सुशासन ल्याउन, जनतालाई विकासका पूर्वाधारप्रति आत्मनिर्भर तुल्याउन र भ्रष्टाचारजन्य कार्यलाई न्यूनीकरण गर्न आपसी मनमुटाब त्यागेर एकजुट हुन आग्रह गर्नुभएको छ ।
वाग्मती प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले सबै पक्षसँग समन्वय र समझदारीकासाथ जनतालाई आर्थिक समृद्धि तर्फ उन्मुख गराउने र शान्ति–सुरक्षाको अवस्थालाई दरिलो बनाउन आवश्यक रहेको बताउनुभयो ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षाको गुणस्तरीय सुधारको लागि ११९ वटै स्थानीय तहमा स्वास्थकर्मीका दरबन्दी यसै आवमा सिर्जना गरी विद्यार्थीको स्वास्थ्य उपचार कार्यमा तीव्रता ल्याउने योजना कार्यान्वयन गरिन लागेको बताउनुभयो ।
उहाँले प्रदेशमा कृषि, पर्यटन, उद्योग विस्तारलगायत पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतासाथ प्रदेशको १३ जिल्लामा मुख्यमन्त्री नमूना कार्यक्रम सञ्चालन गर्न लागिएको उल्लेख गर्नुहुँदै सबै दलहरुले आ–आफ्नो दलगत स्वार्थभन्दामाथि उठेर राष्ट्रियताको सम्र्बद्धन गर्न र जनताप्रति जिम्मेवार भई अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री पौडेलले विकासको पूर्वाधार सडक निर्माण मात्रै नभइ प्रदेशको कृषि, उद्योग, वन, पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत् र सञ्चार क्षेत्रको विकास पनि भएकाले सरकारले गम्भीरताकासाथ कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले ५१ विधेयक पारित गरिएकोमध्ये ४८ वटा प्रमाणीकरण भएको उल्लेख गर्दै प्रदेशमा सुशासन कायम राख्न र जनतालाई आर्थिक समृद्धि तर्फ आत्मनिर्भर तुल्याउन अब एकैसाथ कार्यक्रम लिएर जनता कहाँ जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले नेपालको संविधानको भावना अनुरुप प्रदेश सरकार गठन गरिएको उल्लेख गर्दै सरकारकाले आफ्नो सीमित स्रोतसाधनलाई सदुपयोग गरी राष्ट्रिय गौरबको आयोजना, सडक सञ्जाल, कृषि, भूमि सुधारलगायत विभिन्न योजनालाई यसै चालु आवभित्र कार्यान्वयन गर्नेतर्फ अग्रसर रहेको बताउनुभयो ।
वाग्मती प्रदेश प्रमुख प्रर्साई र मुख्यमन्त्री पौडेलले दोलखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ र मकवानपुरका स्थानीय गाउँपालिकामध्ये छनोट भएका प्रमुख र चितवनको माडी नगरपालिकाको प्रमुखलाई नगदसहित कदर पत्र प्रदान गर्नुभयो । उहाँहरुले राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता रिपेश दाहाललाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गर्नुभयो । त्यसैगरी उहाँहरुले वाग्मती प्रदेश सरकारका विभिन्न कार्यालयका गरी २० जना कर्मचारीलाई पनि नगद र प्रमाणपत्र वितरण गर्नुभयो ।
साग विजेता खेलाडीलाई सम्मान
वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रर्साई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले क्रमशः वाग्मती प्रदेशभित्रका तेस्रो सार्क खेलकूद प्रतियोगितामा विजयी खेलाडीहरुलाई आज हेटौँडामा प्रदेश सरकारको तर्फबाट नगदसहित सम्मान गर्नुभयो ।
प्रदेश प्रमुख विष्णु प्रर्साईले वाग्मती प्रदेश सरकारद्वावारा प्रकाशित सरकारको दुई वर्षे कार्ययोजनाको पुस्तकको पनि आजै विमोचन गर्नुभयो । सार्क खेलकूदको विभिन्न समूहमा विजयी हुने स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु एक लाख, ५० हजार र २५ हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको वाग्मती प्रदेश सरकारको सचिवालयका अधिकृत अशेष खड्काले बताउनुभयो ।
