प्रदेश नं ३ मा छुट्टै पर्यटन ब्राण्ड

हेटौँडा, २४ फागुन : प्रदेश नं ३ सरकारले पर्यटन विकास गर्न छुट्टै पर्यटन ब्राण्ड निर्माण गर्ने भएको छ । ब्राण्ड निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजनाले रु एक लाख राशिको पुरस्कारसहित प्रतियोगिता आयोजना गरेको छ ।

पर्यटनसम्बन्धी केन्द्रीय ब्राण्ड वा नाराले प्रदेशलाई समेटे पनि आफ्नै छुट्टै विशिष्ट पहिचान भएकाले अलग्गै ब्राण्ड निर्माण गर्नुपरेको आयोजनाका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो । आयोजनाले ब्राण्डको डिजाइन गरी प्रतियोगितामा सहभागी हुन इच्छुक सङ्घसंस्था तथा व्यक्तिका लागि आगामी चैत ६ गतेसम्म सम्पर्क गर्ने गरी समय सीमा तोकेर सूचना प्रकाशित गरेको छ ।

पर्यटकीय गन्तव्यमा १०० मध्ये सबैभन्दा धेरै स्थान प्रदेश नं ३ कै रहेकाले ती सम्पदाको प्रवद्र्धन गरी प्रदेशमा पर्यटक आकर्षित गर्न ब्राण्ड निर्माणको प्रतियोगिता सञ्चालन गरिन लागेको आयोजनाले जनाएको छ । प्रदेशका प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक तथा ऐतिहासिक महत्व बोकेका सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धन गराउने लक्ष्य लिइएअनुरुप पर्यटन प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनाउन आफ्नै पर्यटन ब्राण्ड र नाम निर्माण गर्नुपर्ने बताइएको छ ।

आयोजनाका प्रमुख क्षेत्रीका अनुसार प्रदेशका स्थापित तथा नयाँ एवं व्यवस्थित गर्नुपर्ने सम्पदाको समेत पहिचान गरेर प्रचारप्रसार गर्न ब्राण्डको भूमिका महत्वपूर्ण हुनेछ । उहाँका अनुसार प्रदेशको वास्तविक परिचय थाहा पाउन तथा आम समुदायलाई आफ्नो प्रदेशको पर्यटन विकासमा सहभागी गराउन प्रतियोगिता आवश्यक परेको हो ।

आयोजनाका अनुसार ब्राण्ड नामलाई पर्यटन प्रवद्र्धनको मुख्य ब्राण्डिङ टुलको रुपमा प्रयोग गरिने तथा मन्त्रालय एवं पर्यटन विकास आयोजनाको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य विशेष सामग्रीका रुपमा विशेष महत्वका साथ प्रकाशन एवं प्रसारण गरिने छ । मन्त्री अरुण नेपालको संयोजकत्वमा रहेको छनोट समितिले ब्राण्ड नाम र नाराको छनोट गर्ने छ । सामग्री प्राप्त भएको बढीमा एक महीनाभित्र उत्कृष्ट ब्राण्डको छनोट गरिने आयोजना प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.