परियोजना बैंक कार्यान्वयन गर्छौँ : मुख्यमन्त्री पौडेल

हेटौँडा, ८ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शुरु गर्न लागेको परियोजना बैंकलाई चाँडै कार्यान्वयनको चरणमा लैजाने बताउनुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा उहाँले पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सातवटै मन्त्रालयले गर्ने कामका योजनालाई परियोजना बैंकमा राखेर मात्र प्रक्रिया अगाडि बढाइने बताउनुभयो । योजना बेग्लाबेग्लै आफूखुशी आउन लागेको भन्दै मुख्यमन्त्री पौडेलले परियोजना बैंकमा समावेश योजनालाई प्राथामिकतामा राखिने बताउनुभयो । 

“व्यक्तिगत इच्छाबाट आउने योजनालाई निरुत्साहित गर्दै संस्थागत योजना कार्यान्वयनमा परियोजना बैंकको भूमिका महत्वपूर्ण हुनेछ,” उहाँले भन्नुभयो । चालू आर्थिक वर्षका योजना शुरु भइसकेकाले आगामी आर्थिक वर्षमा परियोजना बैंकका योजना कार्यान्वयनमा लैजाने प्रदेश सरकारको तयारी छ । 

चालू आवभित्र नै परियोजना बैंक निर्माण गरी लागू गर्नेगरी तयारी भएको राष्ट्रिय नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले जानकारी दिनुभयो । बैंकको स्थापनापछि व्यक्तिगत स्वार्थभन्दा पनि सामाजिक आवश्यकका आधारमा छनोट गर्ने र कार्यान्वनका चरणमा लैजाने सरकारले योजना अगाडि सारेको छ । 

परियोजना बैंक योजना कार्यान्वयनमा विभिन्न समस्या हुने भन्दै प्रदेश सरकारले परियोजना बैंक स्थापनाको कार्यलाई तीब्रता दिन लागिएको हो । बैंकको पहिलो चरणको खाका तयार गरी आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव केवल भण्डारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्तुत गरिसक्नुभएको छ । सो कार्यक्रममा विभिन्न प्रदेशका मन्त्रालयका सचिव सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.