‘आधासत्य’ नाटक सङ्ग्रह सार्वजनिक
काठमाडौँ, १३ असोज : बेपत्ता परिवारको कथा व्यथा समेटिएको नाटक सङ्ग्रह ‘आधासत्य’ बजारमा आएको छ ।
नाटककार राजन खतिवडा र सिजन दाहालले लेख्नुभएको उक्त कृतिको मण्डला नाटकघरमा सार्वजनिक गरिएको हो । बेपत्ता परिवारका आफन्त एकराज वाग्ले, पेशलकुमारी वाग्ले, सुशीला चौधरी तथा लेखक कुमार नगरकोटी र विप्लब प्रतीकले उक्त कृतिको संयुक्तरुपमा विमोचन गर्नुभयो ।
तत्कालीन सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका परिवारका भोगाइलाई पुस्तकले समेटेको छ । नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा लेखिएको पुस्तकले बेपत्ता नागरिकको मुद्दालाई सामाजिकीकरण गर्न सहयोग पुग्ने प्रकाशक मण्डला थिएटरको दाबी छ ।
पुस्तकमाथि टिप्पणी गर्दै लेखक नगरकोटीले बेपत्ताको पीडालाई न्यायालयको ढोका घचघच्याउन कृतिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कृतिका सम्पादक कवि तथा गीतकार विप्लबले नभोग्नुपर्ने, अप्रत्यासित भोगाइ, पीडाको अनुभूति पुस्तकले अभिलेखीकरण गरेको उल्लेख गर्नुभयो ।
बेपत्ता परिवार राष्ट्रिय सञ्जालका कोषाध्यक्ष सुशीला चौधरीले मानवीय संवेदनशील घटनाका पीडितले अझै न्याय नपाएको गुनासो गर्दै पुस्तक त्यसैको एक साक्षी दस्तावेज भएको बताउनुभयो । लेखक राजन खतिवडाले बेपत्ता परिवारको असामान्य जीवन भोगाइलाई नाटकीयरुपमा प्रस्तुत गरिएको यथार्थपरक आधासत्य हो भन्नुभयो ।
