साहित्य सन्ध्यामा राष्ट्रिय चेतका सिर्जना

काठमाडौँ, ३ साउन : ‘साहित्य सन्ध्या’ को मासिक ४०७औँ शृङ्खलामा आज कोरोना महामारीको प्रभाव, नेपालको सीमामा भारतीय अतिक्रमण, विद्यमान राजनीतिक किचलो आदि विषयमा केन्द्रित रही तीन दर्जन स्रष्टाले आफ्ना रचना प्रस्तुत गरेका छन् ।

भर्चुअलरूपमा गरिएको कार्यक्रममा वाचित सिर्जनामा वर्तमान युगको चित्रणका साथै देखेभोगेका समस्याको चित्रण गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले स्रष्टाहरुले राष्ट्रिय चेतनाको भावना सम्प्रेषण गरी दक्षिणी छिमेकीले सीमामा गरेको अतिक्रमण र हेलाँप्रति स्रष्टाहरु असन्तुष्ट रहेको बताउनुभयो । उहाँले ती सिर्जनाले भाषा, संस्कृति र माटाको मायाका पक्षमा अनि एकताका पक्षमा दृढतापूर्वक वकालत गरेको जनाउँदै राष्ट्रप्रेमका माध्यमबाट नेपालीबीचको एकताका लागि स्रष्टाहरुले खबरदारी गरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका बाहिरबाट बालकृष्ण लामिछाने (इलाम), प्रा डा भीम खतिवडा (धरान), गायत्री चापागाईँ (विराटनगर), डा अमर गिरी (दाङ), हरि तिमिल्सिना (नेपालगञ्ज), सरस्वती चिमौरिया (काभ्रे) तथा काठमाडौँबाट प्रा डा कृष्णप्रसाद घिमिरे, प्रा डा हेमनाथ पौडेल, वासुदेव अधिकारी, मातृका पोखरेल, डा राजेन्द्रप्रसाद अधिकारी, डा बालचन्द्र मिश्र, डा भागवत आचार्य, रीता खत्री, डम्बर पहाडी, गोमादेवी कटुवाल, ललिता दोषी, जयन्ती स्पन्दन, विधान आचार्य, प्रकाश सिलवाल, गोपालकुमार मैनाली, रमेश शुभेच्छु, गीता सापकोटा, गणेश घिमिरे ‘मार्मिक’, प्रमोद स्नेही, जयन्ता पोखरेल, अच्युत घिमिरे, गायत्री लम्साल, राममणि ढुङ्गेल, सीताराम नेपाल र नन्दु उप्रेतीले रचना वाचन गर्नुभएको थियो ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले स्रष्टाले सिर्जनाका माध्यमबाट छिमेकीको साम्राज्यवादी प्रवृत्तिका विरुद्ध र राष्ट्रवादका पक्षमा सशक्त आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.