लोककला, संस्कृति तथा साहित्यका क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई सम्मान
बेँसीशहर, २६ भदौ : लोककला, संस्कृति तथा साहित्यका क्षेत्रमा योगदान गरेवापत केही स्रष्टालाई सम्मान गरिएको छ ।
लमजुङको पहिलो पत्रिका ‘अन्तरङ्ग’ साप्ताहिकले आफ्नो २७ औँ वार्षिकोत्सवमा पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष गोर्खे साइँलो, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका संरक्षक बुद्धिमान दुरा (धम्पु) र उहाँको गायन जोडी सीता दुरा, नाट्यकलाकर्मी एवं साहित्यकार पुरु लम्साल, मकैडाँडा साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर सुयललाई सम्मान गरेको कार्यक्रमका संयोजक नवराज पहाडीले जानकारी दिनुभयो ।
पत्रिकाले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको चौथो राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट चार जनालाई नगदसहित सम्मान गरियो । एक सय १६ जनाको सहभागिता रहेको खुला मुक्तक प्रतियोगिताको उपाधि काठमाडौँका गफाडीले पाउनुभएको छ । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना दुई जनालाई क्रमशः रु १२ हजार, रु आठ हजार, रु पाँच हजार तथा रु तीन तीन हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा प्राप्त मुक्तकको सङ्ग्रह १अनुपम–२’ को विमोचनसमेत गरिएको थियो । मुक्तकमा स्थापित स्रष्टाद्वय गौरी तमु, पोखरा र लोकेन्द्र डहरे, सिन्धुलीलाई ‘अन्तरङ्ग मुक्तक उत्सव राष्ट्रिय सम्मान– २०७५’ दिइएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट साहित्यलाई सहयोग गरेवापत बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, समाजसेवी सानुमाया गुरुङ, डिकेन्द्र कँडेल, राजेन्द्र बोहरा, रामबाबु श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ र महेन्द्रराज वाग्ले, प्रधानाध्यापक नानुमाया पराजुली, उद्यमी पार्वती श्रेष्ठ र इ–प्रविधिविज्ञ सञ्जोग लामिछानेलाई पनि ‘अन्तरङ्ग मुक्तक उत्सव राष्ट्रिय सम्मान– २०७५’ दिइएको थियो । त्यसैगरी ‘अन्तरङ्ग र लमजुङ रत्न’का विचार तथा स्तम्भ लेखक दामोदर अधिकारी, केबी मसाल, तीर्थराज पराजुली, विनोद न्यौपाने, केयरसिंह गुरुङका साथै संवाददाता बेलबहादुर न्यौपाने र अधीर अधिकारीलाई पनि सम्मान गरिएको थियो ।