समता काव्य सन्ध्यामा कवि युयुत्सु

चिप्लेढुङ्गा, ५ असोज : पोखराको सबैभन्दा पुरानो वाङ्मय संस्था पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) को नियमित कार्यक्रम समता काव्य सन्ध्यामा कवि युयुत्सु आरडी शर्माले पोखरेली साहित्य पारखीलाई आफ्ना चर्चित पाँच कविता सुनाउनु भएको छ ।

समता काव्य सन्ध्याको १३६ औँ शृङखलामा शनिबार सन्ध्या नायकका रुपमा पोखरेली निम्तो स्वीकार्दै आउनुभएका कवि शर्माले कविता लेख्ने काम निकै चुनौती भएको बताउँदै आफ्ना पाँच कविता सुनाउनुभयो ।

उहाँले ‘खोला’ शीर्षकको शृङ्गारिक भावको एउटा कविता र बाँकी हिमालको अद्भुत दृश्य, प्रकृति र जनजीवनसँग जोडिएका कविता सुनाउनुभयो । शर्माले पोखरा र आसपासका सुन्दर दृश्यले आफूलाई कविता लेख्न प्रेरित गरेको बताउनुभयो । उहाँले ‘खच्चरहरु’, ‘लिटल प्याराडाइज लस्ट’, ‘द लेक फेवा एण्ड हर्स’, ‘अन्नपूर्ण’ लगायत पाँच कविता प्रस्तुत गर्नुभयो । उहाँका कवितामा नेपालको हिमाली जनजीवनको सौन्दर्य र दुःखपीडा दुवै पाइन्छ ।

सो अवसरमा कवि तीर्थ श्रेष्ठले शर्माले नेपाली साहित्यलाई अन्तरराष्टिय जगत्मा पु¥याउन निकै महत्वपूर्ण भूमिका खेलेको र उहाँ सत्यका पक्षमा बोल्ने कवि भएको बताउनुभयो । उहाँले विश्वका थुप्र्रै देशमा कविता वाचन गरिसक्नुभएका शर्माले भारतमा जन्मेर पनि नेपालको माटालाई माया गर्ने कवि भएको बताउनुभयो ।

काव्या सन्ध्यामा बालिका अभिलाषी सुवेदीले ‘दाग’, गोविन्द चापागाईँले ‘मेरा बालाई अनुरोध’, चन्द्रावती वाग्लेले ‘भाग्यरेखा’, विवेक देवकोटाले ‘आकाशको मलामी,’ इशा शाहले ‘उल्टो बाटो,’ इन्द्रराना प्रतीकले ‘हामी कसको दास भयाँै,’ सुवास मल्लले ‘कमरेड त झनै लाल हुनुभएछ’, जमुना रोकाले ‘बौलाही फूल’, नवराज अधिकारीले ‘जनआह्वान’, जगन्नाथ रेग्मीले ‘छाड्देऊ बरु आसन’ र दिीक समिपले ‘कालो छाया’ शीर्षकका कविता प्रस्तुत गर्नुभएको थियो ।

पोयुसांपका अध्यक्ष प्रकाश ज्ञवालीले चर्चित कविहरुको आगमनले पोखरेली युवा सांस्कृतिक परिवारको गरिमालाई बढाइरहेको र पोखरेली साहित्य अनुरागीले कविताको भिन्न स्वाद लिन पाएको बताउनुभयो । पोयुसांपका सचिव अर्जुन अधिकारी र साहित्य विभाग संयोजक रीता अधिकारीले हरेक महिनाको पहिलो शनिबार ‘साहित्य, कला र सङ्गीतको उत्थान हाम्रो प्रण’ भन्ने उद्घोषका साथ नियमित रुपमा समता काव्य सन्ध्या गरिँदै आएको जानकारी दिनुभयो । तस्बिर उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.