पाँच चित्रकार माल्दिभ्स प्रस्थान
काठमाडौँ, ४ असोज : सार्क कला क्याम्प तथा प्रदर्शनीमा सहभागी हुन पाँच नेपाली चित्रकारको टोली आज माल्दिभ्सतर्फ प्रस्थान गरेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव बिपीनकुमार घिमिरेले नेतृत्व गर्नुभएको टोलीमा रञ्जु यादव, सुन्दर सिंख्वाल, रिता मानन्धर र टुकबहादुर थापा मगर रहनुभएको छ ।
सार्क सदस्य राष्ट्रमा प्रत्येक वर्ष हुने उक्त कार्यक्रम सार्क कल्चर सेन्टरले यस वर्ष माल्दिभ्स सरकारको सहयोगमा माल्दिभ्सको हुल्हुमालेमा हुँदैछ । बिहीबारसम्म सार्क आर्ट क्याम्प तथा प्रदर्शनी सञ्चालन हुने टोलीका सदस्य चित्रकार यादवले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा यादवले मिथिला चित्र, सिंख्वालले पौभा चित्र, मानन्धरले आधुनिक चित्र, मगरले समसामयिक चित्र र घिमिरेले अभिव्यक्तिवादी चित्र कोर्ने छन् । प्रतिष्ठानले खुला दरखास्त आह्वान गरी सहभागी चित्रकार छनोट गरेको हो ।
