कवयत्री तिमल्सिनाको ‘योद्धाको सपना’ लोकार्पण

सुर्खेत, २८ भदौ : कवयत्री देवकी तिमल्सिना ‘समीक्षा’द्वारा रचयित कृति ‘योद्धाको सपना’ एक कार्यक्रमबीच सुर्खेतमा लोकार्पण गरिएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘योद्धाको सपना’ कृति लोकार्पण गर्नुभएको हो । सो अवसरमा मुख्यमन्त्री शाहीले भन्नुभयो, “साहित्यले समाज परिवर्तन गर्नुपर्छ, मुलतः कर्णाली नेपाली भाषाको उद्गमस्थल भएकाले अरुले नेपाली भाषा, साहित्य, कला, सभ्यता, संस्कृतिको संरक्षण गर्लान् भन्नुभन्दा कर्णालीबाटै यसको शुरुआत गर्नुपर्दछ ।”

कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले ‘योद्धाको सपना’ कविता कृतिले हिजोका दिनमा भएका यथार्थ घटनालाई विश्लेषण गर्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो, “कविता कृति ‘योद्धाको सपना’ले एकात्मक राज्य व्यवस्थाको परिवर्तनका लागि भएको युद्धबाट योद्धाहरुले देखेका सपनाहरु पूरा भएका छन् कि छैनन् भनेर प्रश्न गरेको छ । कवितात्मकरूपमा आएका यी यथार्थ र वस्तुवादी शब्दजडित पंक्तिहरुले एकपटक हामीलाई गम्भीर भएर सोच्न बाध्य बनाएका छन् ।”

कवयत्री देवकी तिमल्सिना ‘समीक्षा’ले उक्त कृतिमा भएका कविता आफ्नो जीवनको भोगाइसँग अन्तरसम्बन्धित भएको बताउनुभयो । “यसमा नेपालमा भएको लामो सशस्त्र युद्ध र त्यसबाट प्रभावित भएकाहरुको पीडायुक्त आवाज मुखरित गर्ने प्रयास गरेकी छु”, कवयत्री तिमल्सिनाले भन्नुभयो, “अझै पनि धेरै योद्धाहरुको सपना पूरा नभएकाले गणतन्त्र आइसकेपछिका सरकारहरुले ‘योद्धाका सपना’हरुले देखाएको काम पूरा गर्नतर्फ ध्यान दिनुपर्छ ।”

कर्णाली योजना आयोगका सदस्य एवं कृतिका प्रकाशक डा दीपेन्द्र रोकायाले समाजका लागि कृतिले के दिनसक्छ भन्ने महत्वपूर्ण कुरा रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै समयमा देश र योद्धाहरुले भोगेको एवं देखेको सपनालाई यथार्थरूपमा चित्रण गर्न सकेकाले कविता कृति अक्षरमा बलियो छ ।”

मध्यपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन तथा लोकार्पण कार्यक्रमका समीक्षक प्रा खोपीराम लम्सालले ‘योद्धाको सपना’ कृतिमा क्रान्तिका स्वरहरु सुसेलिएको टिप्पणी गर्नुभयो । कवितामा अविधा, लक्षणा र व्याञ्जना हुने जनाउँदै उहाँले भन्नुभयो, “कृतिले केही सपना पूरा भएको देखाए पनि केही सपना पूरा गर्न बाँकी रहेको औँल्याइएको छ ।”

लोकार्पित कविता सङ्ग्रहमा ४३ कविता सङ्ग्रह गरिएको छ । लोकार्पण कार्यक्रममा बाँकेका गजलकार देवकी निरौलाले गजल वाचन गर्नुभएको थियो भने बर्दियाका कवि सुवास अधिकारीले कविता वाचन गर्नुभयो ।

कर्णाली साहित्य समाजको आयोजनामा भएको उक्त कार्यक्रममा दैलेख, सुर्खेत, कालिकोट, अछाम, कञ्चनपुर, बैतडी, डोटी, जाजरकोट, बाँके बर्दिया, सल्यान, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लाबाट ३०० बढी साहित्यकार, प्राध्यापक, विद्यार्थी, पत्रकारको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.