वरिष्ठ कलाकार शर्माको ‘समयक्रममा नेपाल’

नारायण ढुङ्गाना । काठमाडौँ, २० भदौ : “अब काठमाडौँ बिग्रियो, पहिलाको काठमाडौँ छैन, तपाईले देख्नुभयो नी”, कला पारखीलाई आफैँले उतारेको पुरानो सफा र सुन्दर काठमाडौँको दृष्यचित्र देखाउँदै ८२ वर्षीय वरिष्ठ कलाकार हरिप्रसाद शर्माले भन्नुभयो ।

काठमाडौँको नेपाल कला परिषद्मा आजदेखि शुरु भएको २० दिने ‘चित्रकला प्रदर्शनी’का क्रममा उमेरले ८२ कटे पनि १६ वर्षे जवानीको जोश निकालेर कलाकार शर्माले शुभेच्छुक माझ कलासाधनाका तल्लीन रहने वाचा गर्नुभयो ।

“नेपालको इतिहासलाई स्वर्णीम युग भन्छन्, त्यसलाई समाउन पाएहुन्थ्यो भनेर लागेको छु, मलाई छोरा विष्णुप्रसादको ठूलो साथ छ, रिसर्च गर्ने, किताब अध्ययन गर्ने, पुरानासँग बुझ्ने गर्छौं, अनि त्यसलाई एउटा थिम दिएर मौलिकपन मिसाउँदै यथार्थमा उताछौँ ।”

किताबमा पनि आ–आफ्नो इगो हुने उल्लेख गर्दै शर्माले रासससँग भन्नुभयो, “त्यसलाई पनि छाडेर यथार्थ उतार्ने प्रयास गरिएको छ ।” अरनिको ८० जना कलाकार लिएर चीन गए, कसरी गए, रुवाबासी भयो होला, त्यो सबै विस्तृतमा चित्रमा उतारेको उहाँले बताउनुभयो ।

म मरेर गए पनि इतिहास रहोस् भन्ने विचार लागेर मैले आर्ट बनाउने, परिकल्पना छोराले निकाल्ने गरियो, मनलाग्दी गर्न भएन, सत्य इतिहास धेरै, कल्पना कम गरेर सत्यमा आधारित चित्रहरु रहेको शर्मा बताउनुहुन्छ ।

उहाँको आजसम्म गरेर आठौँ कला प्रदर्शनी हो । तर उहाँको एकल प्रदर्शनी भने यो पाँचौँ हो । नेपालको समयक्रमका चित्र जो अहिले यथार्थतामा हराइसकेका छन्, त्यसलाई समेटिएर प्रदर्शनी गरिएकाले यसलाई ‘समयक्रममा नेपाल’ नाम दिइएको छ ।

विसं २०३० पछि २०५९ सालमा दोस्रो भएको थियो । विसं २०६७, २०७२ सालपछि अहिले पाँचौँ कला प्रदर्शनी आजदेखि परिषद्मा शुरु भएको छ । प्रदर्शनीमा २५ वर्षअघिदेखिका चित्र राखिएको छ । यहाँ ४५ चित्र समावेश छन् । हरेक चित्र जीवन्त लाग्ने र कुनै कथा बोलिरहेको देखिन्छ । यथार्थतामा आधारित इतिहास उतारिएको छ ।

कला समीक्षक मदन ताम्राकार शर्मालाई बहुआयामिक क्षेत्रलाई समेटेर दृष्यमा उतार्न सक्ने क्षमता भएका कलाकारका रुपमा चिन्नुहुन्छ । उहाँको कलाप्रतिको अनुराग र साधना जो कोहीका लागि अनुसरण गर्न योग्य रहेको भन्दै ताम्राकारले इतिहासदेखि वर्तमनसम्मको कलाको विकासक्रम लेख्दा हरिप्रसाद शर्माको नाम छुट्यो भने त्यो अधुरै रहने दाबी गर्नुभयो ।

“खुला आँखाले देखेको मात्रै होइन, त्यसलाई अस्वीकार गरी आफ्नो अनुकूलतामा उहाँले चित्रमा श्रव्यदृष्य नै दिनुहुन्छ, त्यो अभिप्राय उहाँमा छ, नितान्त कलाप्रति समर्पित खोट नभएको मान्छे शर्मा हो”, ताम्राकारले भन्नुभयो ।

यो शर्माका बाबुछोराको पुरानो संस्कृति र इतिहासलाई जीवन्त बनाउने अभियान हो । छोरा विष्णुप्रसाद भन्नुहुन्छ, “नेपालको इतिहास र संस्कृतिको चित्राकलात्मक अभिलेख हो, यो श्रृङ्खला मात्रै हो अपूरो भएकालाई थप्दै गएका छौँ, जनजीवन संस्कृति र इतिहासलाई समेटेर प्रदर्शनी गरिएको छ ।” यहाँ समावेश ४५ चित्रमध्ये १७ वटा चित्र जनजीवनमा आधारित छन् भने अन्य इतिहास र संस्कृतिका चित्र छन् । मल्लकालमा पनि प्रतापमल्लको योगदान धेरै रहेकाले त्यो बेलाका र पृथ्वीनारायण शाहको राज्य एकीकरणको बेलाका चित्र समावेश छ ।

विसं २०५२ मा आमा बितेपछि शर्मा परिवारमा यसरी चित्र निर्माण गर्ने सोच आएको हो । “बाबुछोराले योजना बनाएको सीप बुबासँग छ, मसँग नयाँ सोच छ, दुवैलाई संयोजक गरेर यो काम थालेको अहिले यसले सार्थकता पाउँदै गएकामा खुशी छौँ”, विष्णुप्रसादले भन्नुभयो ।

उहाँहरु चित्र बनाउन एक ठाउँ बस्नुहुन्न । ठाउँठाउँमा गएर घुमेर फोटो सङ्कलन गरेर ४,५ घटनालाई जोडेर त्यसमा दृष्य उतार्नुहुन्छ । कन्सेप्ट विष्णुप्रसादले निकाल्नुहुन्छ । त्यसलाई चित्रमा यथार्थ उतार्ने काम कलाकार हरिप्रसादको हो । विष्णुप्रसादले सम्झनुभयो, “बुबाले यस्तो राम्रो यथार्थ उतार्नु हुन्छ की मैले कल्पना गरेको भन्दा राम्रो ।” बुबाको सीप खेर नजाओस् भनेर न्यूनतम मर्यादा कायम हुने गरी अभियान चलाएको उहाँले बताउनुभयो ।

अबको योजना नै यसको पुस्तक प्रकाशन गरेर भावीपुस्ताका लागि अभिलेखीकरण गर्नु रहेको छ । यो दस्तावेजका रुपमा रहनेछ । जसका कारण उहाँहरुले यो चित्रलाई बिक्रीमा समेत राख्नुभएको छैन । यो सङ्ग्रह नै हो । भविश्यमा इतिहास जिउँसो राख्ने र नसमेटिएका आयाम खोजेर समेट्ने योजना उहाँहरुको छ ।

उहाँको पेन्टिङलाई वृत्तचित्रमा उतार्नुभएका निर्देशक साहरुख ताम्राकार भन्नुहुन्छ, “कलाकार शर्माको पेन्टिङमा आवाज बोलिहेको हुन्छ, अहिले नै घटना भइरहेको आभास हुन्छ ।” प्रदर्शनी अवलोकन गर्न आएका कलापारखीले शर्माको चित्रकारिताको खुलेरै प्रशंसा गरिरहेका छन् । प्रदर्शनीको उद्घाटनमा क्रममा मूर्तिकार ललितकुमार शाक्यलाई नगदसहित सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.