षडानन्दको स्मृतिमा पाँच पुस्तक प्रकाशन गरिने

काठमाडौँ, १७ भदौ : नेपालमा पहिलो संस्कृत पाठशाला खोल्नुहुने आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा पाँच पुस्तक प्रकाशन गरिने भएको छ ।

हेमराज अधिकारीद्वारा लिखित ‘आबाल ब्रह्मचारी षडानन्द अधिकारीको जीवन कथा’, दधिराज सुवेदीले सम्पादन गर्नुभएको ‘श्री १०८ आबाल ब्रह्मचारी षडानन्द अधिकारी स्मृतिग्रन्थ’ पुनःमुद्रण र षडानन्दका विषयमा पूर्व प्रकाशित गद्य रचनाहरुको सङ्कलन ‘गद्य रचनामा षडानन्द’ प्रकाशित गरिनेछ । यस्तै प्राडा सोमप्रसाद खतिवडाले लेख्नुभएको ‘षडानन्दले भोजपुरको दिङ्लामा प्रारम्भ गरेका सांस्कृतिक परम्पराहरुको अध्ययन’ र नीलकण्ठ भट्टराईद्वारा लिखित ‘षडानन्द महाकाव्य’ पनि प्रकाशन गर्न लागिएको आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको ११औँ साधारणसभाले षडानन्दसम्बन्धी वृत्तचित्र र प्रतिष्ठानको वेभसाइट निर्माण गर्ने, दिङ्लामा स्थापना हुने षडानन्द सङ्ग्रहालयमा राख्न आबाल ब्रह्मचारी षडानन्दद्वारा भोजपुरको दिङ्लामा निर्मित वृहत् परिसरका सांस्कृतिक भौतिक संरचनाको प्रतिकृति नमूना निर्माण गर्ने निर्णय गरेको सचिव प्रा लालनाथ सुवेदीले बताउनुभयो । उहाँका अनुसार ‘षडानन्द प्रतिष्ठान’ नामक पूर्व प्रकाशित परिचय पुस्तिकाको पनि पुनःमुद्रण गरिने निर्णय भएको छ ।

शनिबार सम्पन्न साधारणसभाले रु १५ लाख १३ हजारको अनुमानित बजेट पारित गरेको छ । नेपालको शैक्षिक इतिहासमा सर्वप्रथम सहयोग परिचालन गरी विसं १९३२ मा भोजपुरको दिङ्लामा संस्कृत पाठशाला र मठमन्दिरको स्थापना भएको थियो ।

साधारणसभाले षडानन्दका नाममा स्थापना भएको विभिन्न पुरस्कारको उपयुक्त व्यक्ति एवं संस्था छनोट गर्ने निर्णय गरेको छ । षडानन्दको १८४औँ जन्मजयन्तीका अवसरमा आगामी विवाह पञ्चमीमा दिन ती पुरस्कारहरु प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.